काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-१०, बेत्रावतीस्थित आफ्नै घरको चौथो तलाबाट भदौ १० को भोटेकोशी बाढीमा परेकी ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई शनिवार सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले जीवित अवस्थामा उद्धार गरेको छ । उनलाई ११ दिनपछि जीवित उद्धार गरिएको हो । उद्धारपछि हेलिकप्टरमार्फत त्रिशूलीको मैबल ब्यारेकमा प्रारम्भिक उपचार गरी काठमाडौंको छाउनीस्थित सैनिक अस्पताल लगिएको छ ।

६४ वर्षीया चन्द्रिका श्रेष्ठको खुट्टामा घाउ देखिएको र त्यसको शल्यक्रिया गर्नुपर्ने भनेपछि त्यसबारे छलफल भइरहेको उनका छोरा आशिष श्रेष्ठले बताए । खुट्टामा लागेको चोटको सामान्य अप्रेसन गर्नुपर्ने भएकाले अहिले त्यसैको लागि डाक्टरसँग छलफलमा भइरहेको आशिष श्रेष्ठले बताएका छन् । चन्द्रिकाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
भदौ १० को बाढीले वेत्रावति बजार पूरै बगाएको छ । वेत्रावतीमा करिब दुई सय घर थिए । आठ/दश वटा खण्डहर घरबाहेक केही बाँकी छैन । बाढीपछि छोराहरू काठमाडौंबाट वेत्रावती पुगेका थिए । वेत्रावती बजार र आफ्नो घरको अवस्था देखेपछि चन्द्रिकाका छोराहरूले आफ्नो आमाबुवाको माया मारेका थिए
।
चन्द्रिकाको परिवारले बाढीमा बगेको ठानेर मृत्यु संस्कारको काम गरिरहेका थिए । आठ दिनसम्म खोजी गर्दा शव समेत नपाएपछि कुशको शव बनाएर विजेश्वरीमा दाहसंस्कार गरेर काजकरियाको काम सुरु गरिएको थियो । छोरा आशिषले पनि दुई पटक नुवाकोट पुगेर आमाबुवको खोजी गरेका थिए । उनी काठमाडौंको स्वयंभूस्थित सानो भर्याङमा बस्दै आएका छन् ।
आशिष नुवाकोटबाट फर्किएर दाजुभाइ र आफन्तसँग सल्लाह गरेका थिए । आमाबुवालाई अब भेट्न नसकिने सबैको निष्कर्ष निकालेर उनी त्यही अनुसार उनी मृत्यु संस्कारमा लागेका थिए ।














