
गीत तथा कवितामा सिर्जनारत वसन्त चौधरीले पछिल्लो समयमा आख्यानमा पनि कलम चलाएका छन् । नेपाली साहित्यको आख्यान विधामा एउटा अर्को आख्यान थपिएको छ ‘देवयानी’ । जीवनका रंगहरु प्रेमको सुवासले चल्छन्, प्रेम विनाको जीवन कल्पना गर्न कठिन छ, यो संसार प्रेमको गहिराहीमा चुलुम्म डुबेको छ । यस्तै जीवनका रंगहरुमा प्रेमको सुवास घोलेर सिर्जना गर्ने चौधरी आफ्नो आख्यानलाई पनि प्रेमिल बनाएका छन् ।
‘देवयानी’ सामाजिक उपन्यास हो । देवयानी शिर्षकले नै बताउछ, यो उपन्यासभित्र नारी मनोविज्ञानका कथाहरु छन् । पक्कै हो नारी मनोविज्ञान वरिपरि पुरुषपात्र पनि रहेका छन् । पुरुषविना नारी अधुरो तथा नारी विना पुरुष अधुरो हुन्छ, त्यसैले भनिन्छ नारी र पुरुष एउटै रथका दुई पाङ्रा हुन् । एकोहोरो प्रेमको कुनै अर्थ रहदैन्, चाहे त्यो प्रकृतिसँग होस या जीवनसँग । जीवनका परिधिहरुमा रहेर लेख्ने अनगिन्ती विषयहरु हुन्छन् । जीवन विनाका परिधिहरुको के काम ? प्रेम विनाको जीवन पनि त निरस बन्छ । देवयानी समय र सामाज भोगाईका विविध आयामहरुलाई उजागर गरिएको एउटा पूर्ण आख्यान हो ।
वास्तवमा, प्रेमको परिभाषा गर्न कठिन छ, जुनसुकै वर्ग समुदाय तथा जिवित प्राणीहरुमा सर्वत्र छरिएको प्रेमले नै संसार चलेको छ । मान्छे मान्छेसँगमात्र नभएर यो चराचर जगत्का सबैसँग प्रेमको अनुपन रुप छ, कही प्रत्यक्ष देखिन्छ, कही निस्वार्थ रुपमा आफ्ना प्रेमकर्म सुवासित भैरहेका छन् । यदी प्रकृतिले दिने प्रेम एकाएक रोकियो भने हाम्रो प्रेमको के अर्थ ?
प्रेम जति वाढ्यो त्यति वढ्ने चिज हो । यी कुराहरुसँग साइनो गाँसेर सिर्जना गर्न रुचाउने वसन्त चौधरीको नविनतम उपन्यास ‘देवयानी’ पनि प्रेमप्रतिको एउटा अनुपन उदाहरण हो ।
समाजमा रहेपछि समाजका परिधिहरुमा रहनु पर्छ । समाजको मानमर्यादामा रहेर हरेक कार्यहरु गर्नुपर्छ । जसले समाजको मर्यादालाई कायम गर्न सक्दैन, त्यो समाजलाई सह्य हुनसक्दैन ।
प्रेमको पनि आफ्नै परिभाषा र मर्यादा हुन्छ, त्यसकारण हरेक मान्छेले यी कुराहरुमा ख्याल गर्नुपर्छ । सर्जकले पनि समाजका कुराहरु लेख्दा लेखन मर्यादामा रहनु पर्दछ । ‘देवयानी’ उपन्यासका कथाहरु पनि सामाजिक मर्यादामा रहेर लेखिएको एउटा प्रेमिल आख्यान हो । ‘देवयानी’का विषयवस्तु साधारण लागे पनि यहाँ प्रस्तुत भएका घटनाक्रमहरु अत्यन्त गम्भिर रुपमा प्रस्तुत भएका छन् ।
समाजका एक जना अगुवाले गर्ने कार्यले सम्पूर्ण समाजलाई असर पुग्ने रहेछ भन्ने एउटा बलियो प्रमाण ‘देवयानी’मा देखिन्छ । एउटा जोडीले अन्र्तजातिय विवाह गर्छन् । समाजलाई त्यो पाच्य हुँदैन, ति जोडीले त्यही समाजमा भव्य भोजको आयोजना गर्छन । तर भोजमा कोही पनि आउदैनन् ।
यो कुरा त्यही समाजका अगुवाले थाह पाउछन् र उनी आएर भन्छन्– ‘यो जातपात भनेको केही होइन, यसलाई हामीले निस्तेज गर्नुपर्छ ।’ भन्दै भोजमा पाकेका परिकारहरु स्वाद मानीमानी खान्छन्, त्यसपछि सबै भोजमा सामेल हुन्छन् । र, एउटा अन्र्तजातिय बिबाह बैधानीक हुन्छ, यो दृश्य उपन्यासको महत्वपूर्ण पाटो हो । समाजलाई यस्ता सन्दर्भहरुले केही न केही राम्रा सन्देशहरु प्रवाहित गरिरहेका हुन्छन् ।
अर्को कुरा अभिभावकहरुले मागी बिबाह गरिदिन्छन्, एकले अर्कालाई बुझ्नै पाएका हुदैँनन् पनि त्यस्तो सम्वन्धले निम्त्याएको एउटा कथा हो देवयानी । तै पनि उनीहरुको जीवन चलिहेकै हुन्छ । एकले अर्कालाई गर्ने व्यवहारमा केटा मान्छे चुकेको देखिन्छ । यस कथाले मागी बिबाहका ति कमजोर पक्षहरुलाई पनि उजागर गरेको देखिन्छ । जीवन चल्नको लागि एकले अर्कोलाई बुझेन भने, त्यो जीवन कसरी चल्छ ? अबको समाजमा यस्ता प्रथाहरु क्रमशः निस्तेज गर्दै जानु पर्छ भन्ने उपन्यासका पात्रहरुले बोलिरहेका छन् ।
देवयानी मार्फत आफ्नो सन्तानको इच्छा विपरितका कार्यहरुले ठूलै दुर्घटना निम्याउन सक्ने कुराको संकेत पनि गरेको देखिन्छ । आदित्य र मेघावीले आफ्नी छोरीको भविश्यको खातीर भारतस्थित मसुरीको विद्यालयमा भर्ना गर्छन् । छोरीको इच्छा विपरित भएकोले उनले पढाइलाई निरन्तरता दिन सक्दिनन् । पछि उनलाई उनीहरु गएर फिर्ता ल्याउछन् । यी कथाहरु मध्यम वर्र्गको भन्दा पनि घरानिया वर्गको कथा जस्ता लाग्छन्, जसले जीवन जिउनको लागि कुनै संर्घष गर्नु परेको छैन ।
मात्र प्रेमिल बनेर आफ्नै ज्वालामा आफै दन्किरहेको कुरा उपन्यासमा जताततै उल्लेख भएका छन् । एउटी नारीले पनि समाजमा उत्कृष्ठ काम गर्न सक्छे र आफ्नै पौरखमा बाँच्न सक्छे भन्ने अर्को महत्वपूर्ण पक्षले पनि उपन्यासलाई पठनिय बनाएको छ । अबका दिनहरुमा हरेक नारीहरु आफ्नै पौरखमा बाँच्न सिकाएको पनि छ देवयानीले ।
उपन्यासका मूलपात्र देवयानी, माघवी तथा आदित्यको त्रिकोणात्म सम्वन्धमा घुमेको कथाले धेरै कुराहरुको उत्खनन गरेको देखिन्छ । बाबुआमाको इच्छा बमोजिम घरानिया परिवारमा आदित्यका साथ बिबाह बन्धनमा बाधिएकी थिइन माघवी । र व्यापारको शिलशिलामा भेट भएकी देवयानीसँग बसेको उनको प्रेम बिबाहइतरको प्रेमप्रसंगले बितेका आदित्यका सुमधुर पल कसरी विर्सन्थे र ? देवयानीसँगको छोटो सङ्गतमा पनि उनलाई एकछिन नभेट्दा पनि अभाव महसुस गर्दथे, र अहिल्यै भेटिहालूँजस्तो लागि रहने प्रेमिल बनेका थिए । उता देवयानी पनि त्यस्तै थिइन ।
आदित्य र देवयानीलाई बिबाहइतरको त्यो प्रेमले राम्रो बाटो लिन सक्त्तैन भन्ने नलागेको कहाँ हो र ? तर प्रेमको अगाडि उनीहरु नतमस्तक थिए । पछि देवयानीले आफै निर्णय लिएर कुनै दुर्घटना हुन पाएन । यो प्रसङ्गले सकारात्मक सन्देश पनि दिएको छ । उपन्यासमार्फत सकारात्मक सन्देश प्रवाहित भएका छन् ।
आदित्यले धेरै पटक आफ्नो कुरा बताउन खोज्थे, तर देवयानी सुन्नै नचाहने । आदित्य पनि माघवीलाई गुमाउन नचाहने भएको ले उनीहरुको सम्वन्ध धेरै टिकाउ हुने छाट नदेखिए पनि प्रेम सम्वन्ध भने निरन्तर थियो । एउटा बैबाहिक पुरुषले अर्की नारीसँग बिबाह गर्नु कानून सम्वत थिएन पनि । पछि देवयानीले यी कुरा थाह पाएपछि पनि आदित्यलाई गुमाउने उनको चाहना थिएन, तर घर, समाजको डर पनि उत्तिकै थियो । यसमा उनकै आफ्नो भविश्य पनि सुरक्षित नदेखे पछि, देवयानीलाई सानै देखिको साथी बिक्रान्त पनि राम्रै लागेको थियो ।
वास्तवमा समाजमा बसेपनि समाजको परिधिलाई कसैले पनि हेलचेक्राई गर्नु हुन्न भन्ने मूल सन्देश उपन्यासले दिएको छ । माधवीजस्ती सहनशिल नारी पात्रले उपन्यासको ओज वढाएको छ । माधवीले सबै कुरा थाह पाएर पनि मौन बस्नु र आफ्नो श्रीमानलाई मौन भाषामै जवाफ दिएको प्रसंग वास्तवमा उपन्यासको बलियो पक्ष हो । मैैले माथि न
भनिसकेको छु, यो एउटा घरानिय परिवारको कथा हो, संधर्ष र उपकथाका दृष्टिबाट हेर्दा भने त्यसको कमि महशुस पक्कै हुन्छ । साङ्ग्रीला बुक्सद्धारा प्रकाशन गरिएको देवयानी वास्तवमै पठनिय कृतिकोे रुपमा लिन सकिन्छ ।














