Logo
Logo

बाढी प्रभावित क्षेत्रको दीर्घकालीन पुनर्निर्माण आवश्यक : कुलमान घिसिङ


0
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवा जिल्लाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको समग्र पुनर्निर्माणका लागि दीर्घकालीन गुरुयोजना तत्काल अघि बढाउन सरकारसँग माग गरेका छन् । बाढी आएको १३औँ दिन राष्ट्रिय शोक मनाइरहँदा घिसिङले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

The current image has no alternative text. The file name is: kulman-3.jpg

उनले दिनरात नभनी खोज तथा उद्धारमा खटिएका नेपाली सेना, अन्य सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, प्रशासन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ र प्राविधिक टोलीलगायत सबैप्रति आभार प्रकट गरेका छन् । बाढीमा परेका धेरै नागरिकको अवस्था अझै अज्ञात रहेको उल्लेख गर्दै उनले खोजी, उद्धार तथा राहत वितरणलाई थप तीव्र, व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

घिसिङका अनुसार बाढीले त्रिशूली नदी बेसिनको भूगोल र प्राकृतिक स्वरूपमै ठूलो परिवर्तन ल्याएको छ । जलविद्युत् आयोजना, सडक, पुल, प्रसारण संरचनालगायत महत्त्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुगेको र सयौँ परिवार घरबारविहीन भएको उनले बताए । यस्तो क्षति तत्कालीन राहत र पुनर्निर्माणबाट मात्र सम्बोधन गर्न नसकिने भन्दै सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

त्रिशूली नदी बेसिनको समग्र पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि गुरुयोजना तत्काल निर्माण गरी कार्यान्वयनमा लैजान सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै घिसिङले सुरक्षित एकीकृत बस्ती निर्माण, सडक तथा पुल पुनर्निर्माण, ऊर्जा पूर्वाधारको पुनर्स्थापना, नदी नियन्त्रण र तटीय संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । ‘विपद्ले भत्काएको त्रिशूलीलाई अझ सुरक्षित, व्यवस्थित र दिगो त्रिशूलीका रूपमा पुनर्निर्माण गर्ने सङ्कल्प अब आवश्यक छ,’ घिसिङले भने । पुनर्निर्माण र पुनर्स्थापनाको अभियानमा आफ्नो विज्ञता, अनुभव र क्षमताले भ्याएसम्म साथ, सहयोग र योगदान गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्