चितवन । मुग्लिन-काठमाडौं सडक खण्डको कृष्णभीरमा सडक मर्मत कार्य जारी रहेको छ । उक्त स्थानमा नयाँ ट्रयाक खोली आवागमन सुचारु गर्न केही समय लाग्ने भएकाले हाल सो सडकमा सवारी साधनको आवागमन बन्द रहेको छ ।

कृष्णभीरमा सडक अवरुद्ध हुँदा नारायणगढ–मुग्लिन सडक खण्डमा समेत सवारी साधनको चाप घटेको छ । कृष्णभीरमा मर्मत कार्य जारी रहेको समयको सदुपयोग गर्दै नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला परियोजनाको माटो कटान कार्य अगाडि बढाउन लागिएको छ ।
कृष्णभीर सडक खण्डको मर्मत सम्पन्न नहुञ्जेलसम्मका लागि नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला क्षेत्रमा सोमबारदेखि प्रत्येक दिन आंशिक रूपमा सवारी साधनको आवागमन रोकिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
प्रशासनले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान ६:०० देखि ८:०० बजेसम्म, बिहान ८:३० देखि १०:३० बजेसम्म, बिहान ११:०० देखि दिउँसो १:०० बजेसम्म, दिउँसो १:३० देखि ३:३० बजेसम्म र दिउँसो ४:०० देखि साँझ ६:०० बजेसम्म सवारी साधन बन्द रहनेछन् ।
त्यस्तै बिहान ८:०० देखि ८:३० बजेसम्म, बिहान १०:३० देखि ११:०० बजेसम्म, दिउँसो १:०० देखि १:३० बजेसम्म, दिउँसो ३:३० देखि ४:०० बजेसम्म र साँझ ६:०० बजेपछि भने सडक खुला रहनेछ ।
















