काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनका मूल माग र जनताको म्याण्डेटप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । गत वर्ष भदौ २३ र २४ गते सामाजिक सञ्जाल प्रतिबन्ध फुकुवा, सुशासन, भ्रष्टाचार अन्त्य र राज्यका निकायमा युवाको अर्थपूर्ण प्रतिनिधित्वका लागि भएको आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा उनले यस्तो भनेका हुन् ।

आन्दोलनमा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका घिसिङले यो आन्दोलन केवल सरकार परिवर्तनका लागि नभई राजनीतिक संस्कार, शासनशैली, सुशासन, जबाफदेहिता र युवा सहभागिताका लागि उठेको पुस्ताको आवाज भएको स्पष्ट पारे । आन्दोलनपछि गठन भएको सरकारले फागुन २१ मा निर्वाचन गराई झण्डै दुईतिहाइ जनमत पाए पनि अपेक्षाअनुसार परिणाम दिन नसकेको उनको भनाइ छ ।
सुशासनमा केही प्रयास भए पनि मूल प्रश्नहरू यथावत् छन् । संविधान र राज्य संरचनालाई नागरिकमैत्री बनाउने, भ्रष्टाचारमा शून्य सहनशीलता लागू गर्ने, उत्पादनमुखी अर्थतन्त्र, रोजगारी, नवप्रवर्तन र पूर्वाधार विकासले गति लिन नसकेको उनको भनाइ रहेको छ । ‘केवल भाषण र नाराले पुग्दैन । जेनजीको रगत र आवाजको सम्मान परिणामबाट हुनुपर्छ,’ घिसिङले भने ।















