Logo
Logo

रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार ३५७ पुग्यो, ५ हजार ३२६ सम्पर्कविहीन


315
Shares

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २३ गते अपराह्न १:०० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै उक्त विवरण दिएको हो ।

The current image has no alternative text. The file name is: tirsuli-a.jpg

 जसमा चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १६९, धादिङमा ७०, गोरखामा ७५ र तनहुँमा ३८ वटा शव तथा मानव अङ्गहरू फेला परेका छन् । फेला परेका शवमध्ये हालसम्म १०२ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ ।

हालसम्म कुल ५ हजार ३२६ जना मानिसहरू सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ । जसमा रसुवा जिल्लाबाट मात्रै २ हजार ८६० जना बेपत्ता छन् । बेपत्ता हुनेहरूमा रसुवाका १ हजार ३९३, अन्य जिल्लाका १ हजार २८६, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२, सरकारी कर्मचारी ७३ र बैङ्क तथा वित्तीय संस्थाका २६ जना कर्मचारी छन् । यसका अतिरिक्त नुवाकोटबाट करिब १ हजार ९८१ जना नेपाली नागरिक र करिब ५८७ जना विदेशी पर्यटक अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

विपद्पछि तीव्र पारिएको खोजी तथा उद्धार अभियानमार्फत हालसम्म १३ हजार ५८३ जनाको सकुशल उद्धार गरिएको छ । बाढीमा परी घाइते भएका ६ हजार ८२७ जनाको उपचार भइरहेको छ । जसमध्ये नेपाली सेनाबाट ३ हजार ४०४, सशस्त्र प्रहरीबाट ३ हजार ९६ र विभिन्न १० वटा अस्पतालमा ३२७ जनाको उपचार गरिएको छ । अस्पतालमा उपचाररतमध्ये २४२ जना डिस्चार्ज भइसकेका छन् ।

उद्धार कार्यका लागि नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ गरी कुल २१ हजार ४०२ जना सुरक्षाकर्मी मैदानमा खटिएका छन् । वायुसेवामार्फत उद्धार र राहतका लागि नेपाली सेनाले १ हजार १५७ पटक, काठमाडौँबाट निजी क्षेत्रले १२९ पटक र सशस्त्र प्रहरीले २०३ पटक हेलिकप्टर उडान भरेका छन् ।

विस्थापित नागरिकका लागि रसुवामा ६६९, नुवाकोटमा २ हजार ६५१ र धादिङमा २१३ गरी कुल ३ हजार ५३३ जनालाई ३९ वटा होल्डिङ सेन्टरमा राखिएको छ। सरकारले रसुवा र नुवाकोट जिल्लालाई १९१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ वटा पालिकालाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ।

यसैबिच, प्रभावित क्षेत्रमा ५० हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल, १८ हजार लिटर हवाई इन्धन र ४५७ सिलिन्डर ग्यास पठाइएको छ । प्रभावितहरूको मनोसामाजिक परामर्शका लागि स्वास्थ्य मन्त्रालयले १५० भन्दा बढी जनशक्ति परिचालन गरेको छ। बिजुली आपूर्तिको स्थिति हेर्दा धादिङमा ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् सुचारु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्