Logo
Logo

जेनजी मार्गबाट एक इन्च पनि विचलित हुन्नौँ : रवि लामिछाने


126
Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलन नयाँ जागरणको विस्फोट गरेको बताएका छन् । जेनजी शहीद दिवसको अवसरमा वक्तव्य जारी गर्दै उनले वर्षौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत असक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताले सिर्जना गरेको निराशाविरुद्ध जेनजीहरू सडकमा उत्रिनुपरेको अवस्था स्मरण गरेका हुन् । 

The current image has no alternative text. The file name is: rabi-lamichhanen.jpg

 उनले भनेका छन्, ‘एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेका हामीलाई परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो। भदौ २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्। परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख रित्तो नहोस् भन्ने कामना गर्दै नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दा जीवन गुमाएका सम्पूर्ण अमर सहिदहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, कर्तव्य पालनका क्रममा ज्यान गुमाएका अमर प्रहरीहरूप्रति पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’ 

उनले आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राजनीतिमा चासो राख्दैन भनिएको पुस्ता सडकमा उत्रिएर परम्परागत राजनीतिक शैलीलाई अस्वीकार गरेको बताए ।  युवाहरूले सडकबाट सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा आज रास्वपालाई उभ्याएको उल्लेख गर्दै उनले जेनजीको आँधीले कोरेको मार्गबाट एक इन्च पनि विचलित नहुने दृढता व्यक्त गरे ।

उनले भने, ‘हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ । र यो पनि सम्झाएको छ-हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ । म सम्पूर्ण युवा, नागरिक समाज र आम जनसमुदायलाई विनम्र अपिल गर्दछु-तपाईँहरूको रचनात्मक खबरदारी र हाम्रा कार्यसम्पादनको निर्मम समीक्षा निरन्तर चलिरहोस् । तर, आम मनोविज्ञानमा निराशाको भाष्य भने स्थापित हुन नदिऔँ । नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्ने यस ऐतिहासिक यात्रामा हामी सबै एकताबद्ध हुनै पर्छ ।  जागरणको त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौँ भन्ने दृढ सङ्कल्प व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्