Logo
Logo

सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद श्रीराम न्यौपाने


315
Shares

काठमाडौं । रसुवाको चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारको प्रयास तीव्र भइरहेको रास्वपा सांसद श्रीराम न्यौपाने जानकारी गराएका छन् ।  उनले सुरुङभित्र जीवनको सम्भावना अझै रहेको भन्दै उद्धारको प्रयास अन्तिम क्षणसम्म जारी राख्ने  सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् ।  

The current image has no alternative text. The file name is: shreeram-neupane.jpg

उनले फेसबुकमा लेखेका छन्, ‘अस्थायी सडक सुरुङको मुखसम्म पुर्‍याएर एक्स्काभेटर र ह्विल लोडरमार्फत २४ घण्टा काम गर्ने योजना रहे पनि विद्युत् जडानमा भएको ढिलाइ, पहिरो, दलदल र ब्लास्टिङसम्बन्धी गतिविधिका कारण सडक विस्तारको काम निर्धारित स्थानसम्म पुग्न सकेन । आज थप दुईवटा एक्स्काभेटर साइटमा पुगेका छन् भने सडक सुरुङको मुखबाट करिब ४० मिटर नजिक पुगेको छ ।’

नेपाली सेना र भारतीय सेनाको संयुक्त टोलीले सुरुङभित्रको लेदो म्यानुअल रूपमा पन्छाउने, आवश्यक ब्लास्टिङ गर्ने तथा सडक विस्तारको कामलाई निरन्तरता दिइरहेको उनले बताएका छन् ।

धुन्चेमा भएको छलफलमा सुरुङबाहिर सडक निर्माणका लागि ब्लास्टिङ गर्दा जोखिम बढ्न सक्ने तथा सुरुङभित्र ठूलो परिमाणमा पानी थुनिएको हुन सक्ने विषयमा समेत छलफल भएको न्यौपानेले जानकारी दिएका छन् । तर, आफ्नो १२ वर्षको ब्लास्टिङसम्बन्धी अनुभवका आधारमा आवश्यक सावधानी अपनाएर गरिने नियन्त्रित ब्लास्टिङले उद्धार कार्यमा बाधा पुर्‍याउनुको सट्टा कामलाई तीव्र बनाउन सहयोग गर्न सक्ने उनको तर्क छ ।

सुरुङभित्र प्रतिसेकेन्ड करिब ९ लिटर पानी चुहावट भइरहेको आधारमा ठूलो परिमाणमा पानी दबाबसहित थुनिएको हुन सक्ने प्राविधिक आशंकाप्रति पनि आफू सहमत नभएको न्यौपानेले बताएका छन् । डिजाइन, ड्रइङ र धरातलीय अवस्थाको अध्ययन गर्दा बाढीका क्रममा सुरुङभित्र पसेको लेदो, माटो, ढुङ्गा, गिट्टी र बालुवाले पावर हाउसतर्फको हावा माथिल्लो भागमा धकेलेको हुन सक्ने उनको भनाइ छ ।

पावर हाउसको माथिल्लो भागमा केही खाली स्थान रहने डिजाइन रहेकाले त्यहाँ मानिसका लागि सम्भावित सुरक्षित स्थान हुन सक्छ । उनले पावर हाउसमा ९२ वटा ठूला ब्याट्री, भान्छा तथा चामल, दाल, चिनी, चियापत्ती लगायतका खाद्य सामग्री र करिब एक हजार लिटर क्षमताको खानेपानी ट्यांकी रहेको जानकारी आफूले पाएको बताएका छन् ।

बाढीका कारण माथिल्लो भागमा हावा तथा अक्सिजनको अवस्था कायम रहेको भए सुरुङभित्र रहेका ६ जना लामो समयसम्म जीवित रहन सक्ने सम्भावनालाई नकार्न नहुने न्यौपानेको भनाइ छ । उनले आफ्नो प्राविधिक विश्लेषणका आधारमा तीन/चार सातासम्म जीवित रहन सक्ने सम्भावना देखिए पनि यसको वास्तविक पुष्टि उद्धार कार्य सम्पन्न भएपछि मात्रै हुने स्पष्ट पारेका छन् ।

उनका अनुसार उद्धार कार्यलाई कसरी अघि बढाउने भन्ने विषयमा सिडिओ, नेपाली सेना, भारतीय सेनाका प्रतिनिधि, नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर, सागर ढकाललगायतको उपस्थितिमा छलफल भएको थियो । छलफलपछि लेदो पन्छाउने कामलाई निरन्तरता दिने, सुरुङको क्राउनतर्फबाट लेदो हटाउँदै अघि बढ्ने र आवश्यक ब्लास्टिङलाई सावधानीपूर्वक निरन्तरता दिने निष्कर्ष निकालिएको थियो ।

त्यसपछि नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङसहितका विज्ञबाट समेत सुरक्षा निकायसँग प्राविधिक राय प्रस्तुत भएको र कामलाई निरन्तरता दिन सकिने निष्कर्षमा पुगेको न्यौपानेले बताएका छन् । ‘आशा जीवित छ’ भन्दै न्यौपानेले उद्धारको प्रयास नरोकी प्राविधिक विवेकका साथ कामलाई तीव्रता दिनुपर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्