काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले पाँच दिनअघि सुरु गरेको एक्रो ब्रिज जडानको काम बुधवार राति सम्पन्न भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सेनाको टोलीले निरन्तर खटिएर पुल जडान पूरा गरेको हो । नयाँ पुल जडान भएसँगै आजदेखि पैदलयात्रीका लागि आवतजावत खुला गरिने भएको छ भने भोलिदेखि सवारी साधनसमेत सञ्चालनमा आउने भएका छन् ।
भोटेकोशीको बाढीले पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क विच्छेद भएको थियो। सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुलाई राहत मिलेको छ ।















