काठमाडौं । गृहमन्त्रालयको सहमतिमा प्रहरी प्रधानकार्यालयले डिआइजीदेखि एसपीसम्मको सरुवा तयारी गरेको बुझिएको छ । प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरदेखि डीआईजीसम्मको सरुवाको गृहकार्य थालेको हो । अवधि पुगेका कार्यालय प्रमुखहरुको सरुवा गर्न लागेको प्रहरी प्रधानकार्यालयले जनाएको छ ।

कर्णालीका डिआइजी जयराज सापकोटा, बाग्मतीका डिआइजी दीपक रेग्मी र लुम्बिनीका डिआइजी भूपेन्द्र खत्रीको सरुवा तयारी भएको स्रोतले बताएको छ । सापकोटा र खत्री आइजीपी दानबहादुर कार्की निकट नभएको स्रोतको दावी छ । खत्रीलाई सरुवा गरेपछि उनको स्थानमा प्रवक्ता रहेका अविनारायण काफ्लेलाई पठाउन लागिएको छ ।
त्यसैगरी बाग्मती र कर्णालीमा पनि काफ्लेकै व्याचीलाई पठाउन लागिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख लगायत एसएसपी इन्चार्ज पनि फेरिदै छन् । कार्यालयका एसएसपी सन्तोष खड्काको एक वर्षको अवधि पुगिसकेको छ ।
गत वर्ष जेनजी आन्दोलन लगत्तै उनको त्यहाँ सरुवा भएको थियो । पछिल्लो समय मुद्दा चलाउने अधिकार समेत पाएको उक्त कार्यालयमा जानका लागि एसएसपीबिच प्रतिस्पर्धा छ । केही जिल्लाका एसपीहरु फेरिदै छन् ।
मोरङका कवित कटवाल, भक्तपुरका सूर्यबहादुर खड्का, कास्कीका नवीन कार्की, पूर्वी नवलपरासीका युवराज खड्का, दाङका दिपक श्रेष्ठ, पाल्पाका दिपेन्द्र पंञ्जियार, बाँकेका अंगुर जिसी तथा कैलालीका नरेन्द्र चन्द लगायतको सरुवा हुँदैछ । त्यस्तै एक वर्ष अवधि पुगेका पहाडी जिल्लाका डिएसपी, इप्रका तथा वृत्तका इन्चार्जको पनि सरुवाको तयारी भइरहेको छ । ठूलो संख्यामा इन्सपेक्टरको पनि असोज पहिलो साता सरुवा हुने सम्भावना छ ।















