Logo
Logo

ओम शिवम् पाइप एण्ड फिटिङ्गको प्राविधिक प्रशिक्षणमा उत्साहजनक सहभागिता


189
Shares

काठमाडौँ । लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडद्वारा उत्पादित ओम शिवम् पाइप एण्ड फिटिङ्गको गुणस्तर, प्राविधिक विशेषता, प्रयोग विधि तथा बजार रणनीतिबारे जानकारी दिने उद्देश्यले शनिबार हेटौँडामा प्राविधिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा मकवानपुर तथा आसपासका क्षेत्रका प्राविधिकहरूको सहभागिता थियो। घर तथा भवन निर्माणका क्रममा पाइप र फिटिङ्गको सही छनोट, गुणस्तरीय सामग्रीको प्रयोग तथा जडानसम्बन्धी प्राविधिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडका नायब महाप्रबन्धक बिक्रम खतिवडाले कम्पनीका उत्पादन, बजार रणनीति तथा प्राविधिक वर्गसँगको सहकार्यका विषयमा जानकारी दिए।

खतिवडाले निर्माण क्षेत्रमा प्राविधिक वर्गको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै गुणस्तरीय पाइप तथा फिटिङ्गको छनोट र सही जडानले उपभोक्तालाई दीर्घकालीन लाभ दिने बताए। उनले ओम शिवम् पाइप एण्ड फिटिङ्गको बजार विस्तारसँगै प्राविधिक वर्गसँगको सहकार्यलाई पनि प्राथमिकतामा राखिएको बताउँदै आगामी दिनमा यस्ता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए।

“निर्माण क्षेत्रमा प्राविधिकहरूको भूमिका प्रत्यक्ष र महत्त्वपूर्ण हुन्छ। उत्पादनको गुणस्तरबारे सही जानकारीसँगै त्यसको उचित प्रयोग र जडानसम्बन्धी ज्ञान पनि उत्तिकै आवश्यक हुन्छ,” खतिवडाले कार्यक्रममा भने।

कार्यक्रममा लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडका क्वालिटी इन्चार्ज शैलेन्द्र पालले कम्पनीका उत्पादनको गुणस्तर तथा गुणस्तर नियन्त्रण प्रक्रियाबारे सहभागीहरूलाई जानकारी गराए। उनले उत्पादनका विभिन्न चरणमा अपनाइने गुणस्तर परीक्षण, कच्चा पदार्थको छनोट तथा उत्पादनको गुणस्तर कायम राख्न अपनाइने प्रक्रियाबारे प्राविधिकहरूलाई जानकारी दिए। त्यस्तै कम्पनीका म्यानेजर तथा मेकानिकल इन्जिनियर रोजन श्रेष्ठले ओम शिवम् पाइप एण्ड फिटिङ्गका प्राविधिक विशेषता, प्रयोग विधि तथा जडान प्रक्रियाबारे प्रस्तुति दिए। उनले पाइप एण्ड फिटिङ्गको प्रयोग गर्दा आवश्यक प्राविधिक मापदण्ड तथा सही जडान प्रक्रियामा ध्यान दिनुपर्ने विषयमा सहभागीहरूको ध्यानाकर्षण गराए।

कार्यक्रममा सहभागी प्राविधिकहरूले पाइप तथा फिटिङ्गको प्रयोगका क्रममा देखिने विभिन्न व्यावहारिक समस्या, उत्पादनको प्राविधिक पक्ष तथा बजारमा उपभोक्ताले गर्ने प्रश्नका विषयमा जिज्ञासा राखे। सहभागीहरूको जिज्ञासालाई कम्पनीका प्राविधिक तथा व्यवस्थापन पक्षका प्रतिनिधिहरूले सम्बोधन गरे।

कार्यक्रमको सुरुवातमा मकवानपुरका बिक्री अधिकृत अस्मित अधिकारीले स्वागत मन्तव्य राखेका थिए। अधिकारीले ठूलो सङ्ख्यामा प्राविधिकहरूको सहभागिताले कार्यक्रमप्रति निर्माण क्षेत्रमा कार्यरत प्राविधिकहरूको चासो स्पष्ट भएको बताए। उनले कम्पनी र प्राविधिक वर्गबीचको सम्बन्धलाई थप मजबुत बनाउन यस्ता कार्यक्रम उपयोगी हुने उल्लेख गर्दै आगामी दिनमा पनि प्राविधिकहरूसँग नियमित अन्तरक्रिया र ज्ञान आदानप्रदानलाई प्राथमिकता दिने बताए।

कार्यक्रममा सहभागी प्राविधिकहरूले पनि कम्पनीका उत्पादन तथा गुणस्तरसम्बन्धी जानकारी प्रत्यक्ष रूपमा प्राप्त गर्न पाउँदा आफूहरूलाई व्यावहारिक रूपमा उपयोगी भएको प्रतिक्रिया दिए। उनीहरूले पाइप एण्ड फिटिङ्गको प्राविधिक पक्ष, गुणस्तर र प्रयोग विधिबारे कम्पनीका सम्बन्धित अधिकारीबाट प्रत्यक्ष जानकारी पाउँदा काममा थप सहजता हुने बताए।

लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले ओम शिवम् ब्रान्ड अन्तर्गत पाइप तथा फिटिङ्ग उत्पादन गर्दै आएको छ। कम्पनीले उत्पादनको गुणस्तरका साथै बजारमा प्राविधिक जानकारी र सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। निर्माण क्षेत्रमा पाइप एण्ड फिटिङ्गको प्रयोग बढ्दै जाँदा उत्पादनको गुणस्तर र सही जडानसम्बन्धी प्राविधिक ज्ञानको आवश्यकता पनि बढिरहेको छ। यस्तो अवस्थामा कम्पनी र निर्माण क्षेत्रमा प्रत्यक्ष रूपमा कार्यरत प्राविधिकबीचको अन्तरक्रियाले उत्पादनको सही प्रयोग र उपभोक्तासम्म गुणस्तरीय सेवा पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शनिबार सम्पन्न प्रशिक्षण कार्यक्रममा उल्लेखनीय प्राविधिकहरूको सहभागिता रहनुले ओम शिवम् पाइप एण्ड फिटिङ्गका उत्पादन, गुणस्तर तथा प्राविधिक विषयप्रति निर्माण क्षेत्रमा कार्यरत जनशक्तिको विश्वास र चासो बढ्दै गएको आयोजकको भनाइ छ।

कम्पनीले आगामी दिनमा पनि विभिन्न क्षेत्रका प्राविधिक तथा निर्माण व्यवसायीसँग सहकार्य गर्दै प्राविधिक प्रशिक्षण, उत्पादनसम्बन्धी जानकारी तथा अन्तरक्रियात्मक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्