Logo
Logo

बसभित्रै आत्मदाह गर्ने अर्जुनका दुई श्रीमती, छोरासहित उत्रिए प्रदर्शनमा


3k
Shares

काठमाडौं । सोमबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडी ऋद्दि सिद्दिको बसभित्रै आत्मदाह गर्ने युवक अर्जुन दोङ भएको खुलेको छ । यसअघि प्रहरीले उनी दावा लामा भएको बताए पनि उनको वास्तविक पहिचान अर्जुन दोङ भएको खुलेको हो ।

मृतक दोङ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ का हुन् । करिब २२ वर्षीय दोङका दुई श्रीमती र दुई श्रीमतीबाट एक, एक सन्तान रहेको पनि खुलेको छ । उनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा राति निधन भएपछि अहिले दुबै श्रीमती तथा आफन्तहरु प्रदर्शनमा उत्रिएका छन् ।

अर्जुनका बाबु छैनन् भने सात जना दाजुभाइमा उनी कान्छा हुन् । सातमध्ये एक दाइ विदेशमा छन् । अस्पताल अगाडि सडकमा अहिले अर्जुनको न्याय माग्दै प्रदर्शन भइरहेको छ । अर्जुनका परिवार, आफन्त तथा यातायात व्यवसायी प्रदर्शनमा संलग्न छ ।

उनीहरुले परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने, छोरालाई निशुल्क पढाउनुपर्ने र ट्राफिक प्रहरीलाई कारबाही गरिनुपर्ने माग राखेर अर्जुनको शव लिन मानेका छैनन् । ट्राफिक प्रहरीसँगको विवादपछि अर्जुनले आत्मदाह गरेको हुनसक्ने अनुमान छ । उनी र ट्राफिकबीच नियम मिचेको विषयमा विवाद भइरहेको भिडिओ क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्