Logo
Logo

कांग्रेस महाधिवेशन प्रक्रिया तीव्र, आज देशभर पालिका अधिवेशन हुँदै


378
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज बुधबार देशैभर एकसाथ पालिका तहको अधिवेशन हुँदै छ । असोज ३ गते वडा अधिवेशनबाट विधिवत् प्रारम्भ भएको महाधिवेशन प्रक्रिया स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने चरणमा प्रवेश गरेको हो ।

केही छिटपुट स्थानबाहेक देशभरका वडाहरूमा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेकाले बुधबारको पालिका अधिवेशन पनि सहज, सौहार्दपूर्ण र भव्य रूपमा सम्पन्न हुने विश्वास कांग्रेस केन्द्रीय निर्वाचन समितिले व्यक्त गरेको छ ।

बाढीपहिरो प्रभावित नुवाकोट र धादिङका सबै वडाहरूमा मङ्गलबार अधिवेशन सम्पन्न भइसकेको छ भने मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही बाँकी वडाहरूमा पनि अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार पालिका अधिवेशनबाट हरेक पालिकामा पाँचजना पदाधिकारी चयन हुनेछन्, जसमा एकजना सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ ।

कोषाध्यक्षको चयन भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट गर्ने वैधानिक प्रावधान रहेको छ । सदस्यहरूको हकमा पालिका कार्यसमितिमा प्रत्येक वडाबाट एक महिला र एक खुला, युवा क्लस्टरबाट एक महिला र दुई खुला, तथा दलित समुदायबाट एक महिला र एक खुला सदस्य निर्वाचित हुनेछन् । यसका अतिरिक्त कार्यसमितिलाई पूर्ण समावेशी बनाउन गाउँ, नगर, उपमहानगर र महानगर कार्यसमितिमा क्रमशः सात, नौ, ११ र १३ जना सदस्य मनोनयन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

तर, यो सम्पूर्ण प्रक्रियामा निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष भने सहभागी भएको छैन । देउवा पक्षले सभापति थापा नेतृत्वको कार्यतालिकालाई अस्वीकार गर्दै आगामी असोज १५ गते मात्रै वडा अधिवेशन गर्ने गरी छुट्टै कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्