काठमाडौं । अध्यागमन विभागले एकैपटक ८८ विदेशीको व्यावसायिक भिसा रद्द गरेको छ । भिसा रद्द गरिएका विदेशीलाई नेपालबाट निष्काशन (डिपोर्ट) गर्ने प्रक्रिया समेत सुरु गरेको छ ।

“सिन्धुलीको मरिण गाउँपालिका–४, साहानस्थित छेन्दु टाइन फुड लिमिटेडको आर्थिक साझेदारीमा निर्माणाधीन जियान फुड्स प्रा.लि.(नेपाल हिट प्रोसेस्ड वफेलो मिट एक्पोर्ट टु चाइना प्रोजेक्ट)मा कार्यरत ८८ विदेशी नागरिकले अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिई भिसाको उद्देश्यविपरीत कार्य गरेको पाइएकोले निजहरूको भिसा रद्द गरिएको छ,” विभागले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसका अतिरिक्त अध्यागमन ऐन, २०४९ बमोजिम जरिबाना गरी निष्कासनको प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ । विभागले सबै विदेशी नागरिकलाई आफूले प्राप्त गरेको भिसाको उद्देश्य र सर्तबमोजिमका क्रियाकलापमा मात्र संलग्न हुन अनुरोध गरेको छ ।
“सम्बन्धित उद्योग, कम्पनी, प्रतिष्ठान तथा रोजगारदातालाई पनि उपयुक्त भिसा र स्वीकृतिबिना विदेशी नागरिकलाई रोजगारीमा संलग्न नगराउन जानकारी गराइन्छ,” विभागले भनेको छ ।
अध्यागमन कानुन तथा अन्य प्रचलित कानुनविपरीतका कार्यमा संलग्न भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ ।
प्रचलित कानुनबमोजिम नेपालमा व्यापारिक वा औद्योगिक व्यवसायमा लगानी गर्ने इजाजतप्राप्त विदेशी नागरिक वा त्यस्तो संस्थाका अधिकृत प्रतिनिधिलाई सम्बन्धित निकायको सिफारिसमा व्यावसायिक भिसा जारी गर्दै आएको छ ।
यसैगरी नेपालमा उत्पादित मालसामान खरिद गरी निकासी गर्ने विदेशीलाई समेत व्यावसायिक भिसा जारी गर्ने व्यवस्था रहेको छ ।
अध्यागमन नियमावली, २०५१ मा व्यावसायिक भिसा प्राप्त गर्ने विदेशी नागरिकले जुन उद्देश्यका लागि भिसा प्राप्त गरेको हो, सोही उद्देश्यका साथ नेपालमा बस्नुपर्ने व्यवस्था छ । व्यावसायिक भिसालाई रोजगारी, श्रम वा अन्य असम्बन्धित कार्यका लागि प्रयोग गर्न मिल्दैन ।
“विभाग र सम्बन्धित निकायसँगको समन्वयमा गरिएको पछिल्लो अनुगमनका क्रममा केही व्यावसायिक भिसा प्राप्त गरेका विदेशी नागरिकहरू भिसा सिफारिस तथा स्वीकृतिसँग सम्बन्धित व्यवसाय वा लगानीको उद्देश्यभन्दा फरक प्रकृतिको रोजगारी, श्रम वा अन्य कार्यमा संलग्न रहेको देखिएकोले सो सम्बन्धमा विभागको गम्भीर ध्यानाकर्षण भएको छ,” विभागले भनेको छ ।













