Logo
Logo

एमाले नेतृत्वमा विद्या भण्डारीको पुनरागमन, वरिष्ठ नेता चयन


693
Shares

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेता चयन भएकी छिन्।

केन्द्रीय कमिटीको बैठकअघि आजै भएको सो पार्टीको सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारीसहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पारित गरेको थियो। पार्टीका पूर्वउपाध्यक्ष भण्डारीलाई पार्टीको सदस्यता दिने/नदिने विषयमा आन्तरिक बहस चलेकामा हाल सर्वम्मतिले वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको छ।

एमालेका सचिव हिक्मत कार्कीले भण्डारी अब वरिष्ठ नेताको भूमिकामा रहने र उनको राजनीतिक तथा सांगठनिक अनुभवले पार्टीको आगामी कार्यभारलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

बैठकपछि प्रतिक्रिया दिँदै सचिव पद्मा अर्यालले भण्डारीजस्तो अनुभवी र सम्मानित नेतालाई सदस्यता दिइसकेपछि विशुद्ध पार्टी सदस्य बनाएर मात्रै राख्न उपयुक्त नहुने भएकाले वरिष्ठ नेताको जिम्मेवारी दिइएको बताइन्।

अर्का सचिव महेश बस्नेतले केन्द्रीय कमिटीको बैठक सौहार्दरुपमा सम्पन्न भएको उल्लेख गर्दै ‘नेतृत्व र पार्टीमाथि भएको हमलालाई निराश’ बनाउँदै पार्टीलाई एकताबद्ध तथा उत्साहित बनाउँदै बैठक सम्पन्न भएको जिकिर गरे। उनले विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको मुद्दामा न्यायालयबाट छिटो र उपयुक्त निर्णय आउने आशा व्यक्त गरे।

यही असोज ५ गतेदेखि जारी केन्द्रीय कमिटीको बैठक आज सकिँदैछ। केन्द्रीय कमिटीको बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित भएको थियो।

प्रतिक्रिया दिनुहोस्