Logo
Logo

घण्टी देख्यो कि रास्वपा सम्झिने, मान्छेको रुद्रघण्टीसमेत रास्वपाकै घण्टी ठान्ने ! (भिडियोसहित)


0
Shares

काठमाडौं । यतिबेला प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा छन् । भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले बगाएको हाम्रो नियति, भत्काएको भौतिक संरचना र गुमेको मानवीय क्षतिको फेहरिस्त बोकेर उनी त्यहाँ पुगेका हुन् । विपद्लाई जलवायु परिवर्तनसँग जोडेर नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष ‘जलवायु न्याय’को माग उठाउने तयारी छ । तर, बिडम्बना ! न्युयोर्कमा जलवायु न्यायको ढोका खुल्नुभन्दा पहिला यता नेपालमा भने ‘साइबर स्याल’हरूको भ्रमको भल यति नराम्ररी बगेको छ कि, सामाजिक सञ्जालमा भोटेकोसीको भन्दा ठूलो र डरलाग्दो बाढी आएको छ– ‘फेक न्युज’ र ‘एआई’बाट उत्पादित भ्रमको बाढी !

कुरा सुरु गरौँ, प्रधानमन्त्रीको बिदाइबाट । यसपटक प्रधानमन्त्री बालेनले विगतका ‘भीआईपी’ संस्कारलाई तोड्दै सकेसम्म सादगीपन देखाउने प्रयास गरे । विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी लाउन्जमा मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, विदेशी कूटनीतिज्ञ र दलका नेताहरूको लर्को लाग्थ्यो । नेपाली सेनाले ‘गार्ड अफ अनर’ दिने सामन्ती परम्परा नै थियो । तर, यसपटक त्यस्तो कुनै औपचारिक र भड्किलो रमिता भएन । प्रधानमन्त्रीको सवारी भीआईपी लाउन्जबाट सिधै विमान पार्किङस्थलसम्म पुग्यो । उनलाई बिदाइ गर्न विमानस्थलमा केवल गृहमन्त्री सुदन गुरुङ र पर्यटनमन्त्री खड्गराज पौडेल मात्र पुगेका थिए । उता न्युयोर्क ओर्लिंदा पनि कुनै तामझाम भएन । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरण तथा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले सामान्य कूटनीतिक मर्यादाभित्र रहेर स्वागत गरे ।

एउटा गरिब र विपद्ले थलिएको देशको प्रधानमन्त्रीले देखाएको यो सादगीपन आफैँमा सुन्दर थियो । तर, अन्धभक्त कार्यकर्ताहरूलाई यो सादगीपन कहाँ पच्थ्यो र ? उनीहरूलाई त दक्षिण भारतीय सिनेमाको जस्तो ‘हिरोइज्म’ चाहिएको थियो । जब यथार्थमा त्यस्तो भएन, अनि उनीहरूले ट्रम्पभन्दा पनि शक्तिशाली हतियार निकाले– ‘एआई’ । अहिले फेसबुक र टिकटक खोलेर हेर्नुहोस्, त्यहाँ साइबर स्यालहरूले बनाएका ‘एआई जेनेरेटेड’ फेक फोटो र भिडियोको रमिता हेरीनसक्नु छ । उनीहरूले भिडियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नै रातो कार्पेट बोकाएर बालेनको स्वागतका लागि विमानस्थलमा उभ्याइदिएका छन् । बालेनको पर्खाइमा अमेरिकाका सडकभरि मानिस निस्किएका छन् । ‘बालेन, बालेन !’ भन्दै नारा लगाइरहेका छन् । अगाडि–पछाडि अमेरिकी सेनाले कडा सुरक्षा दिइरहेको छ । सत्यता शून्य प्रतिशत भएका यी फोटो÷भिडियोहरू हेर्दा लाग्छ– मानौँ, अमेरिकाको सम्पूर्ण राज्यसंयन्त्र नेपालका प्रधानमन्त्रीको स्वागतका लागि महिनौँदेखि रिहर्सल गरिरहेको थियो !

हामी सबै चाहन्छौँ, हाम्रो देशको प्रधानमन्त्रीलाई विदेशी भूमिमा उच्च सम्मान मिलोस् । चिनियाँ राष्ट्रपति सी जिनपिङ अमेरिका जाँदा जस्तो भव्य स्वागत हुन्छ, हाम्रा प्रधानमन्त्रीलाई पनि त्यस्तै होस् । ट्रम्प स्वागत गर्न एयरपोर्टमै पुगुन्, रेड कार्पेट ओछ्याऊन् । तर, कूटनीति र भू–राजनीति टिकटकको भ्युज र फेसबुकको लाइकले चल्दैन ! हाम्रो आर्थिक हैसियत कहाँ छ ? हाम्रो प्रविधिको स्तर के हो ? चीनको आर्थिक, प्रवृधिक र शक्तिको एक छेउमा पनि हामी उभिन सकेको छैनौँ । कसैलाई लाग्न सक्छ, हिजो राजा महेन्द्र अमेरिका जाँदा जस्तो सम्मान पाएका थिए, आज पनि त्यस्तै होस् । तर, विश्व राजनीति धेरै अगाडि बढिसक्यो, अहिले त्यो कुरा ‘सम्झिने, पानी छम्किने’ मात्रै भएको छ । यथार्थलाई स्वीकार गर्न नसक्ने अनि एआईबाट फेक भिडियो बनाएर ‘हाम्रो प्रधानमन्त्रीलाई अमेरिकामा यस्तो भव्य स्वागत गरियो’ भन्दै आत्मरतिमा रमाउने यो प्रवृत्ति मनोरोग बाहेक केही होइन ।

अब कुरा गरौँ, साइबर स्यालहरूको अर्को र सबैभन्दा हास्यास्पद भ्रमको– ‘घण्टी–भ्रम’। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा एउटा घण्टी बजाइयो । त्यो घण्टी बज्नेबित्तिकै नेपालमा रास्वपाका केही कार्यकर्ताले रातारात सामाजिक सञ्जालमा अफवाह फैलाए– ‘हेर्नुस् ! नेपालका प्रधानमन्त्री बालेनको स्वागतमा संयुक्त राष्ट्रसंघले रास्वपाको चुनाव चिह्न ‘घण्टी’ बजायो ! विश्वले हाम्रो पार्टीलाई चिन्यो !’

यो सुन्दा जो कोहीको पनि पेट मिचीमिची हाँस्न मन लाग्छ । साइबर स्यालहरूलाई कसले सम्झाउने कि त्यो घण्टी रास्वपाको केन्द्रीय कार्यालय घण्टीघरबाट लगेर बजाइएको होइन । त्यो बालेनको स्वागतमा बजाइएको पनि होइन । त्यो त संयुक्त राष्ट्रसंघको ‘पिस बेल’ अर्थात् शान्तिको घण्टी हो । सन् १९५४ मा जापानले संयुक्त राष्ट्रसंघलाई प्रदान गरेको उक्त घण्टी प्रत्येक वर्ष अन्तर्राष्ट्रिय शान्ति दिवसमा बजाइन्छ । यो वर्ष पनि सेप्टेम्बर २१ का दिन विश्व शान्तिको प्रतीकका रूपमा त्यहाँ बजाइएको थियो । यो घण्टी ओली जाँदा पनि बज्थ्यो, प्रचण्ड जाँदा पनि बज्थ्यो र देउवा जाँदा पनि बज्थ्यो । र, भोलि अर्को प्रधानमन्त्री जाँदा पनि त्यही घण्टी बज्नेछ ।

तर, रास्वपाका केही अन्ध कार्यकर्ताहरूको मानसिक अवस्था यतिसम्म दयनीय भइसकेको छ कि, उनीहरू संसारका हरेक घण्टीमा आफ्नै पार्टीको चुनाव चिह्न देख्छन् । उनीहरू मन्दिरमा पुगेर आरतीको घण्टी बज्दा पनि रास्वपाकै जयजयकार भएको ठान्छन् । हिमाली भेगमा चर्ने चौँरी गाईको घाँटीमा झुन्डिएको घण्टी बज्दा पनि रास्वपा नै सम्झिन्छन् । सहरमा कसैले घरपालुवा कुकुरको घाँटीमा घण्टी बाँधेर हिँडायो भने पनि उनीहरूलाई लाग्छ, ‘कुकुरले पनि हाम्रो पार्टीको प्रचार गर्दैछ !’ अहिले अवस्था कस्तो भइसकेको छ भने, कसैले आफ्नो घरमा घण्टी राखोस् कि पसलमा, उनीहरूका लागि त्यो रास्वपाकै घण्टी हुन्छ । यतिसम्म कि, बाटोमा हिँड्दै गरेको कुनै दुब्लो मान्छेको अलि ठूलो ‘रुद्रघण्टी’ देखियो भने पनि त्यसलाई रास्वपाकै घण्टी घोषणा गर्न बेर लगाउँदैनन् । एउटा राजनीतिक दलको चुनाव चिह्नलाई लिएर यस्तो अन्धोपन र भ्रामक मनोविज्ञान सायदै अन्यत्र कतै देख्न पाइन्छ ।

अब यहाँनिर यी साइबर स्यालहरूले तुरुन्तै कुतर्क गर्न सक्छन्– ‘के आफ्नै प्रधानमन्त्रीको इन्सल्ट गर्ने ? हाम्रो देशलाई हेप्दा रमाउने ? विदेशीको दलाली गर्ने ?’ तर स्पष्ट होस्, यो टिप्पणी कदापि प्रधानमन्त्री बालेनप्रति लक्षित होइन । देशको प्रतिनिधि बनेर गएका प्रधानमन्त्रीको सफलतामा सिङ्गो देशको सफलता जोडिएको हुन्छ । हाम्रो देशलाई अन्तर्राष्ट्रिय मञ्चमा हेप्दा कोही पनि नेपाली रमाउँदैन । यो टिप्पणी केवल ती साइबर स्यालहरूका लागि हो, जसले एआईको दुरुपयोग गरेर, फेक न्युज फैलाएर र तिललाई पहाड बनाएर अन्तर्राष्ट्रिय स्तरमै नेपाल र नेपालीको बौद्धिक स्तरको हुर्मत लिइरहेका छन् । जसले यथार्थलाई बिर्सेर सस्तो पपुलिज्म र भ्युजको खेती गरिरहेका छन् ।

अन्त्यमा, प्रधानमन्त्री बालेनको यो अमेरिका भ्रमण र महासभाको सहभागितालाई ‘उनको अंग्रेजी भाषण कस्तो भयो ?’ वा ‘टिकटकमा कति भाइरल भयो ?’ भन्ने सतही प्रश्नमा मात्र सीमित गर्नु हुँदैन । कूटनीतिमा भाषण भाइरल हुनुले कुनै अर्थ राख्दैन, अर्थ त त्यसले राख्छ कि त्यो भाषणपछि समाधानका कतिवटा ढोका खुले ?

हाम्रो चासो र चिन्ता यी विषयमा हुनुपर्छ– के नेपालले उठाएको जलवायु न्यायको एजेन्डाले अन्तर्राष्ट्रिय फोरममा स्थान पायो ? जलवायु वित्तका लागि नयाँ ढोका खुल्यो कि खुलेन ? भोटेकोसी जस्ता विपद्को क्षति र नोक्सानीलाई अन्तर्राष्ट्रिय तहमा सम्बोधन गराउन ठोस संवाद सुरु भयो कि भएन ? पूर्वसूचना प्रणाली र विपद् व्यवस्थापनका लागि नयाँ प्रविधि हस्तान्तरणमा कुनै देशसँग सहकार्य भयो कि भएन ?

यिनै ठोस प्रश्नहरूको जवाफले मात्रै प्रधानमन्त्री बालेनको विदेश भ्रमणको वास्तविक अर्थ र सफलता निर्धारण गर्नेछ । न कि, साइबर स्यालहरूले बनाएको एआई भिडियो र संयुक्त राष्ट्रसंघको शान्ति घण्टीलाई रास्वपाको चुनाव चिह्न सम्झिने दिवा सपनाले । साइबर स्यालहरुको भ्रमको खेती बन्द होस्, यथार्थको धरातलमा उभिएर परिणाममुखी कूटनीतिको बहस सुरु होस् ।

प्रतिक्रिया दिनुहोस्