काठमाडौं । काठमाडौंको टेकु कालो पुल क्षेत्रस्थित कोरिडोरको बाटो डुबानमा परेको छ । निरन्तरको वर्षाका कारण नदीमा पानीको बहाव बढेपछि सो क्षेत्रको बाटो जलमग्न भई आवतजावतमा समस्या पैदा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव छ । यसबाहेक भारतको उत्तर महाराष्ट्र तथा छत्तीसगढ प्रदेश आसपास रहेको बलियो न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ । यो प्रणाली उत्तर९उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर न्यून चापीय प्रणालीका रूपमा रहने सम्भावना छ ।
हाल देशभर अधिकांश क्षेत्रमा बादल लागेको छ । बागमतीसहित कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका अन्य तटीय क्षेत्र र कोरिडोरहरूमा समेत डुबानको जोखिम बढेको छ ।














