Logo
Logo

प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधन श्रीगणेश हो, इतिश्री होइन : रास्वपा सचेतक धिताल


0
Shares

काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्दै जलवायु परिवर्तन, मानवीय संकट र विश्वव्यापी असन्तुलनका विषयलाई प्रभावकारी रूपमा उठाएको बताएकी छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले जलवायु विपत्‌ र मानवीय संकटलाई विश्वमञ्चमा लाने प्रयास भएको बताएकी हुन् । धितालले जलवायु परिवर्तनले सीमा नचिन्ने र हिमनदी तथा बाढीले राहदानीमा छाप लगाएर यात्रा नगर्ने भन्दै प्रधानमन्त्रीले नेपालले भोगिरहेको जलवायु संकटको गम्भीरता विश्वसामु प्रस्तुत गरेको बताएकी छन्।

त्यस्तै, अन्तर्राष्ट्रिय मानवीय संस्था तथा विश्वभरका नागरिकले नेपाललाई गरेको सहयोगप्रति प्रधानमन्त्रीले कृतज्ञता व्यक्त गरेको पनि उनले उल्लेख गरेकी छन्।

धितालले प्रधानमन्त्रीको सम्बोधनमा युद्ध र खाद्यान्न आपूर्तिबीचको असन्तुलनलाई समेत उजागर गरिएको बताएकी छन्। उनका अनुसार प्रधानमन्त्रीले अन्तरमहादेशीय क्षेप्यास्त्र, राइफल र गोलाबारुद सीमा पार गर्न सक्षम भए पनि आवश्यक समयमा नेपाली किसानले बजार मूल्यमा मल वा इन्धनसमेत किन्न नसक्ने अवस्थाप्रति प्रश्न उठाएका छन्।

‘नेपालका लागि जलवायु विपद् मानवीय संकट मात्रै हुँदै होइन, खासमा विकासको आपत्काल पनि हो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै धितालले लेखेकी छन्।

धितालले नेपालको जलवायु तथा मानवीय संकटको आवाज विश्वमञ्चमा साझा गर्ने पहिलो दायित्व पूरा भएको बताउँदै अब त्यसलाई कार्यान्वयनतर्फ लैजान निरन्तर बैठक, छलफल र समन्वय आवश्यक रहेको उल्लेख गरेकी छन्।

‘यो चरण यस यात्राको श्रीगणेश हो, इतिश्री होइन,’ उनले भनेकी छन्, ‘हामीले आँटेको कदमलाई गन्तव्यसम्म पुर्‍याउन थप अनवरत बैठक, छलफल र समन्वयको आवश्यकता छ। यो आवाजलाई बिसाउन नदिने हठको आवश्यकता छ।’

प्रतिक्रिया दिनुहोस्