Logo
Logo

बाढी-पहिरोले देशभरका यी राजमार्ग अवरुद्ध


189
Shares

काठमाडौं । लगातारको वर्षाका कारण आएको बाढी, पहिरो तथा सडकमा लेदो र ढुङ्गा खस्दा देशका विभिन्न जिल्लाका दर्जनौँ सडकखण्ड अवरुद्ध भएका छन् ।

The current image has no alternative text. The file name is: pahiro-2.jpg

आइतबार बिहान ७ बजेसम्मको विवरणअनुसार अधिकांश सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही सडक एकतर्फी सञ्चालनमा आएका छन् । उपलब्ध विवरणअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका मुख्य सडक प्रभावित भएका छन् ।

कोशी प्रदेश

सोलुखुम्बुमा जिल्लाभित्र पर्ने सिद्धिचरण लोकमार्गसहित अन्य भित्री सडक बाढी-पहिरोको जोखिममा छन् । भोजपुरमा जिल्लाभित्र पर्ने मध्यपहाडी लोकमार्गसहितका सम्पूर्ण भित्री सडक प्रभावित छन् । इलाममा जिल्लाका सम्पूर्ण बाटोमा आवागमन प्रभावित भएको छ। मेची राजमार्ग तथा मेची करिडोरअन्तर्गतका सडकमा समेत सवारी आवागमन बन्द गरिएको छ । खोटाङमा मध्यपहाडी लोकमार्ग र मध्यपहाडी सडकखण्ड पहिरोका कारण प्रभावित छन् । हलेसीतुवाचुङ नगरपालिका–१ कदुवास्थित मध्यपहाडी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ । उदयपुरको कटारी-घुर्मी क्षेत्रमा कटारी–घुर्मी (सिद्धिचरण लोकमार्ग) प्रभावित भएको छ । पाँचथरमा तुम्बेवा गाउँपालिका-२ नावाखोला क्षेत्रमा तमोर–कोरिडोर बाढीका कारण अवरुद्ध छ भने याङवरक गाउँपालिका-२ दोभाने खोलास्थित मध्यपहाडी लोकमार्गमा पहिरो गएको छ ।

बागमती प्रदेश

ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडाको पाण्डुर र ऐँसे टाकुर्चे तथा बागमती गाउँपालिका–३ टाकुर्चेमा कान्तिलोकपथ सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ । काभ्रेमा बीपी राजमार्गका विभिन्न स्थानमा बाढी–पहिरोको जोखिम रहेको छ । रसुवामा मुख्य राजमार्ग सबै बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन् । नुवाकोटको शिवपुरी गाउँपालिका क्षेत्रमा टोखा–छहरे सडकखण्ड र विदुर नगरपालिका–१० सिमटारमा पासाङ ल्हामु सडकखण्ड प्रभावित छन् ।

धादिङमा धादिङ जिल्ला आसपासको पृथ्वी लोकमार्ग पहिरोका कारण प्रभावित छ। बेनीघाट रोराङ गाउँपालिका, कृष्णभीर, टिङ्ग्राङखानी, जोगीघाट तथा गजुरी गाउँपालिका क्षेत्रमा पनि पहिरो गएको छ । पृथ्वी राजमार्गको उक्त खण्ड केही स्थानमा एकतर्फी सञ्चालनमा ल्याइएको छ । मकवानपुरमा कान्तिराजमार्ग तथा भैँसे–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जाने सडकखण्ड प्रभावित छ। इन्द्रसरोवर गाउँपालिका–८ महालक्ष्मी खोलानजिकको सडकमा पहिरो गएको छ । यसका कारण हेटौँडा, भैँसे, भीमफेदी, फाखेल र काठमाडौं जोड्ने सडकखण्ड प्रभावित भएको छ । सिन्धुलीमा बीपी राजमार्गका विभिन्न खण्ड बाढी–पहिरोको जोखिममा छन् । दोलखाको गोलन्जोर गाउँपालिका–१ कुडुले क्षेत्रमा मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । सिन्धुपाल्चोकमा जिल्लाभरिका सडकखण्ड बाढी–पहिरोका कारण प्रभावित छन् । चितवनमा जिल्ला आसपासका क्षेत्रमा नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित भएको  छ।

गण्डकी प्रदेश

मनाङमा बेँसीसहर हुँदै खाङसारसम्म जाने सडक तथा लमजुङको सीमादेखि खाङसारसम्मको सडक राति सञ्चालनमा रोक लगाइएको छ। नासो गाउँपालिका–३ खोत्रो क्षेत्रमा चामे–बेँसीसहर सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध छ । कास्कीमा ग्रामीण भेगका सम्पूर्ण सवारीसाधन आवागमन प्रभावित छन् । मुस्ताङमा जिल्लाभित्रका सम्पूर्ण सवारीसाधन प्रभावित छन्। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ कालीगण्डकी क्षेत्रमा जोमसोम–कोरला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ । पर्वतमा पोखरा–बागलुङ मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत जिल्लाभित्र पर्ने करिब ३५ किलोमिटर सडकखण्ड बाढी–पहिरोको जोखिममा छ । म्याग्दीमा जिल्लाभरका सवारीसाधन प्रभावित छन्। रघुगंगा गाउँपालिका–२ बेगसी तथा अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर क्षेत्रमा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध छ । नवलपरासी पूर्वमा जिल्लाभरका सवारीसाधन प्रभावित छन् ।

बागलुङको निसीखोला गाउँपालिका–४ कानाबगरमा मध्यपहाडी लोकमार्ग तथा जैमिनी नगरपालिका–८ बेलबगरमा कालीगण्डकी करिडोर अवरुद्ध छ । तनहुँको व्यास नगरपालिका–१३ घाँसीकुवा र म्याग्दे गाउँपालिका–६ मोरीभीर क्षेत्रमा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

लुम्बिनी प्रदेश

रोल्पाको रोल्पा नगरपालिका–९ माडीचौरमा मदन भण्डारी राजमार्ग अवरुद्ध छ । माडी गाउँपालिका–३ गजरे क्षेत्रमा घोराही–थवाङ–रुकुम शहीदमार्ग सडकखण्डमा पनि पहिरो गएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ रिपामा गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ स्यालबिसौना क्षेत्रमा मदन भण्डारी राजमार्ग, चन्द्रकोट गाउँपालिका–९ सिर्सेनीभीरमा रिडी–भुवनपाटीबजार सडकखण्ड तथा कालीगण्डकी गाउँपालिका–२ राक्सेमा कालीगण्डकी करिडोर अवरुद्ध छ । दाङमा तुलसीपुर–घोराही सडकखण्ड अवरुद्ध छ। जिल्लाका विभिन्न स्थानबाट राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्ड, भालुवाङ–चकचके सडकखण्ड तथा घोराही–होलेरी सडकखण्ड समेत प्रभावित भएको विवरणमा उल्लेख छ । पाल्पाको रामपुर नगरपालिका–१ कासिबन क्षेत्रमा कालीगण्डकी करिडोर र माथागढी गाउँपालिका–१ अगाहाखोलानजिक सिद्धार्थ राजमार्ग पहिरो तथा अविरल वर्षाका कारण अवरुद्ध छ ।

कर्णाली प्रदेश

कालिकोटको शुभकालिका गाउँपालिका–१ मा कर्णाली राजमार्ग सडकखण्ड अवरुद्ध छ ।

प्रतिक्रिया दिनुहोस्