काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले महाराजगञ्जस्थित निवासबाट मध्यराति बिना कुनै प्रमाण पक्राउ गरेकोमा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आपत्ति जनाएका छन् ।

पोखरेलले जबराको पक्राउ कानुन र न्याय प्रणालीको गम्भीर उल्लङ्घन भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत पोखरेलले यस्तो कार्य संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्म विपरीत भएको उल्लेख गरेका छन्।
‘बिना कुनै प्रमाण र अभियोग पूर्वप्रधानन्यायाधीशलाई गरिएको गिरफ्तारी नेपालको प्रचलित कानुन र न्याय प्रणालीको गम्भीर उल्लङ्घन हो,’ उनले भने, ‘यो हाम्रो संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्म विपरीतको काम हो ।’
उनले गलत र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु भएको बताए । पोखरेलले सबैलाई गलत कामको खबरदारी गर्नसमेत आग्रह गरेका छन् ।
‘यस्तो गैरकानुनी र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु भनेको प्रत्यक्ष रूपमा तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु हो । तसर्थ सबैले गलत कामको खबरदारी गरौँ,’उनले भने ।














