
काठमाडौं । काठमाडौं लगायत देशका विभिन्न भाग, विशेषगरी मध्य भूभागमा भएको भारी वर्षा आज रातिदेखि कम हुँदै भोलि (सोमबार) देखि मौसममा उल्लेख्य सुधार आउने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय प्रणाली र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालका विभिन्न भूभागमा भारी वर्षा गराएको हो ।
पछिल्लो २४ घण्टामा बागमती प्रदेशको मकवानपुर र चितवन, गण्डकी प्रदेशको म्याग्दी, स्याङ्जा, तनहुँ र नवलपरासी पूर्व तथा लुम्बिनी प्रदेशको पाल्पा र नवलपरासी पश्चिमका केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ । यसैगरी कास्की, लमजुङ, बागलुङ, पर्वत, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची र सर्लाही लगायतका जिल्लाहरूमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।
हाल उक्त मौसमी प्रणाली बिस्तारै कमजोर बन्दै गएको भए पनि आज दिउँसो देशका पहाडी तथा तराईका केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।
मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा आज दिउँसो पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ । निरन्तरको वर्षाका कारण जमिन गलिसकेको, नदी तथा खोलाहरूमा जलसतह बढेको र पहिरोको जोखिम उच्च रहेकाले विभागले प्रभावित मध्य भूभागहरूमा ‘रातो’ रङको उच्च सतर्कता (प्रतिकार्य) चेतावनी जारी गरेको छ ।
अधिकारीका अनुसार आज रातिदेखि भने मौसममा निकै सुधार आउने र भारी वर्षाको सम्भावना छैन् । रातिको समयमा कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मात्र मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।
त्यसैगरी भोलि सोमबारदेखि देशभर नै मौसम सफा हुँदै जानेछ । विभागले भोलिका लागि देशभर नै कुनै मौसमी जोखिम नरहेको जनाउँदै ‘हरियो’ सङ्केत जारी गरेको छ । सोमबारदेखि तराई क्षेत्रमा घाम लाग्ने र पहाडी भूभागमा आंशिक बदली रही मौसम सामान्य बन्दै जाने भएकाले सर्वसाधारणले आफ्ना दैनिक कामकाज सहज रूपमा सञ्चालन गर्न सक्ने विभागले जनाएको छ ।














