Logo
Logo

मध्यरातमा निवासबाटै लगिए जबरा, सुरक्षा कि गिरफ्तारी ?


441
Shares

काठमाडौं । आइतबार बिहानै सञ्चारमाध्यमहरूमा एउटा खबर डढेलोझैँ फैलियो– पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ परे । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार बिहान करिब ३ बजे महाराजगञ्जस्थित निवासबाटै जबरालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले भने यस घटनालाई पक्राउ नभई ‘सुरक्षात्मक कदम’ भएको दाबी गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार जबरामाथि सुरक्षा चुनौती देखिएपछि उनलाई कार्यालय ल्याइएको हो ।

तर, देशको न्याय प्रणालीकै सर्वोच्च पद सम्हालिसकेका हाइप्रोफाइल व्यक्तिलाई कुन कसुर, के–कस्तो पुर्जी वा कानुनी आधारमा नियन्त्रणमा लिइयो भन्नेबारे प्रहरी र सरकारी निकायहरू अझैसम्म मौन छन् ।

जबराका परिवारका अनुसार प्रहरी टोलीले निवासमा पुगेर उनलाई आफूविरुद्ध ‘सुरक्षा खतरा’ रहेको जानकारी गराएको थियो । तर, जबराले आफूलाई त्यस्तो कुनै खतराबारे जानकारी नभएको बताउँदै आवश्यक परे घरमै थप सुरक्षाकर्मी खटाइदिन आग्रह गरेका थिए । परिवारको भनाइ अनुसार प्रहरीले उनको सो आग्रहलाई बेवास्ता गर्दै सँगै जान दबाब दिएपछि उनलाई निवासबाट लगिएको हो ।

यस घटनाले प्रहरीको भूमिकामाथि गम्भीर प्रश्नहरू उब्जाएको छ, जबरामाथि देखिएको भनिएको त्यो ‘सुरक्षा चुनौती’ के थियो ? र कसबाट खतरा थियो ? घरमै थप सुरक्षा टोली खटाउन सकिने विकल्प हुँदाहुँदै मध्यरातमा घरबाटै लिएर जानुपर्ने बाध्यता किन आयो ? सादा सुरक्षा व्यवस्थापनको साटो अपराध अनुसन्धानमा खटिने उपत्यका अपराध अनुसन्धान कार्यालयलाई किन परिचालन गरियो ?

प्रहरीको यो कारबाहीको कानुनी हैसियत के हो ? र उनीमाथि कुनै आपराधिक अनुसन्धान वा मुद्दा अघि बढाइएको छ कि छैन ?
प्रहरीले यी प्रश्नहरूबारे सार्वजनिक रूपमा कुनै विस्तृत जानकारी दिएको छैन, न कुनै सरकारी निकायले अहिलेसम्म यसबारे बेलेका छन् । नेपालका २९ औँ प्रधानन्यायाधीश रहिसकेका जबरालाई यदि औपचारिक रूपमा पक्राउ गरिएको पुष्टि भयो भने, उपलब्ध विवरण अनुसार यो नेपालको न्यायिक इतिहासमा पूर्वप्रधानन्यायाधीश पक्राउ परेको पहिलो अभूतपूर्व घटना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्