
काठमाडौं । नेपाल बार एशोसिएसनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रहरीले पक्राउ गरिएको घटनामा विरोध जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मध्यराति महाराजगन्ज निवासबाटै सुरक्षा थ्रेट भन्दै नियन्त्रणमा लिएको थियो । त्यसपछि बार एशोसिएसनका प्रवक्ता एवं महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालालेले सुरक्षा थ्रेटका नाममा गरिएको गिरफ्तारी स्वेच्छाचारी भएको बताएका हुन् । उनले भने, ‘सुरक्षा थ्रेटका नाममा गरिएको गिरफ्तारी स्वेच्छाचारी हो। यो संविधान र कानुनको शासनको विपरीत छ । नेपाल बार पनि यस्ता स्वेच्छाचारी गिरफ्तारीको विरोध गर्दछ ।’
उनले यो घटनाले अप्रत्यक्ष रूपमा न्यायपालिकामाथि दबाब दिन खोजेको बताए । ‘पर्याप्त प्रमाण र अभियोगबिना र अदालतबाट पक्राउ पुर्जी जारी नगरी सुरक्षा थ्रेटका नाममा गरिएको स्वेच्छाचारी गिरफ्तारीले न्यायपूर्ण समाजको स्थापना हुन सक्दैन,’ उनले भनेका छन्, ‘अप्रत्यक्ष रूपमा यो न्यायपालिकामाथि कार्यकारीको दबाब र थ्रेट हो भन्ने हिसाबले हामीले बुझेका छौं ।’














