काठमाडौं । अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढ्दा चितवनको भरतपुर महानगरपालिका-१६, झनझनेस्थित गुम्बाचोकमा डुबानमा परेका १० जनाको सकुशल उद्धार गरिएको छ ।

आइतबार बिहान करिब १० : ३० बजे नदीको बहाव बढेपछि उक्त स्थानका तीनवटा घर डुबानमा परेका थिए । घर डुबानमा परेपछि छतमा बसेका १० जनालाई सशस्त्र प्रहरी बल नेपाल नं. १७ गणबाट परिचालित सुरक्षाकर्मीले उद्धार गरेका हुन् ।
सुरक्षाकर्मीले रबरबोटको सहायतामा उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उद्धार गरिएका सबैजना सकुशल रहेको सशस्त्र प्रहरीले जनाएको छ ।














