Logo
Logo

प्रहरीले चोलेन्द्रसँग भेट्न नदिएपछि मानव अधिकार आयोगले के भन्यो ?


252
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शसशेर जबरालाई भेट्न प्रहरीले रोकेकोमा आपत्ति जनाएको छ ।

आइतबार बिहानै ३ बजे निवासबाटै पक्राउ परेका जबरालाई भेट्न टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुगेको आयोगको टोलीलाई प्रहरीले भेट्न रोक लगाएको थियो । यो घटनाप्रति आयोगले विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएको हो ।

‘अनुगमनका लागि आयोगका माननीय सदस्य नेतृत्वको उच्चस्तरीय टोली आज टेकुस्थित प्रहरी परीसर पुगेको थियो। सो क्रममा नेपाल प्रहरीबाट आयोगको टोलीलाई जबरासँग भेटघाट गरी जानकारी लिन रोक लगाइएको छ । अनुगमनका लागि प्रहरीको उच्च नेतृत्वसँग कुरा गर्दा के कति कारणले आयोगको टोलीलाई अनुगमन गर्न नदिएको हो यस विषयमा समेत टोलीलाई जानकारी दिइएन’, आयोगले उल्लेख गरेको छ ।

निष्पक्ष छानबिन गरी संवैधानिक तथा कानूनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन पनि विज्ञप्तिमा माग गरिएको छ । आयोगलाई प्राप्त संवैधानिक तथा कानूनी अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४, क मा आवश्यकता अनुसार सार्वजनिक संस्था, निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्ने गराउने र मानव अधिकार संरक्षणको लागि त्यस्ता निकाय, संस्था वा ठाउँमा गर्नुपर्ने सुधारका सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक सुझाव र निर्देशन दिन सक्ने व्यवस्था छ। यस्तो संवैधानिक तथा कानूनी अधिकार विपरीत नेपाल प्रहरीबाट गरिएको व्यवहारप्रति आयोगले खेद प्रकट गरेको छ ।

प्रहरीले जबरालाई दिउँसो घरमै लगेर छाडिदिएको छ । प्रहरीले सुरक्षा थ्रेटको कारण देखाउँदै बिहानै उठाएर आफ्नो कार्यालय ल्याएको थियो । तर ११ घण्टा राखेर फेरि घर लगेर छाडेपछि चौतर्फी प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस्