Logo
Logo

कामना सेवा विकास बैंकका महिला कर्मचारीद्वारा रसुवाका बाढी प्रभावितलाई सरसफाइ सामग्री सहयोग


189
Shares

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडका महिला कर्मचारीहरूले रसुवामा आएको बाढीबाट प्रभावित भई काठमाडौँस्थित विभिन्न होल्डिङ सेन्टरमा रहेका बाढीपीडितहरूलाई सरसफाइ तथा व्यक्तिगत स्वच्छतासम्बन्धी सामग्री हस्तान्तरण गरेका छन्। उक्त सामग्री बैंकको मानव संसाधन विभागकी रुबी श्रेष्ठले प्रभावितहरूलाई हस्तान्तरण गरेकी हुन्।

प्राकृतिक विपद्का कारण विस्थापित तथा प्रभावित परिवारहरूको स्वास्थ्य र व्यक्तिगत स्वच्छतासम्बन्धी तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै महिला कर्मचारीहरूको सक्रिय सहभागितामा सामग्री संकलन गरी सहयोग गरिएको हो। विपद्को अवस्थामा खाद्यान्न र आवाससँगै व्यक्तिगत स्वास्थ्य तथा सरसफाइका आधारभूत सामानको आवश्यकता पनि उत्तिकै महत्त्वपूर्ण हुने भएकाले प्रभावित नागरिकहरूको दैनिक जीवन सहज बनाउने उद्देश्यले सो सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।

यसअघि पनि कामना सेवा विकास बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत रु. १० लाख र कर्मचारीहरूको एक दिनको तलब बापत रु. १५ लाख गरी कुल रु. २५ लाख प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिसकेको छ।

विपद् प्रभावित समुदायप्रति बैंकको संस्थागत सहयोगका साथै कर्मचारी स्तरबाट देखाइएको यस्तो मानवीय सहभागिताले सामाजिक उत्तरदायित्व र सहकार्यको भावनालाई थप सुदृढ बनाएको छ।

कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् व्यवस्थापन, मानवीय सहायता, स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक हितका विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार राहत तथा पुनःस्थापनामा सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्