
काठमाडौं । मानव अधिकार आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्कासँग बयान लिएको छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउबारे बुझ्न आयोगले पत्राचारै गरेर बोलाएपछि पुल्चोकस्थित कार्यालय पुगेर खड्काले बयान दिएका हुन् । आइतबार बिहान ३ बजेतिर आफ्नै निवासमा सुतिरहेका जबरालाई प्रहरीले पक्राउ गरेको थियो ।
उनको पक्राउबारे बुझ्न अपराध अनुसन्धान कार्यालय टेकु पुग्दा भेट गर्न नदिएपछि आयोगको टोली फर्केको थियो । त्यसपछि करिब ११ घण्टा प्रहरी नियन्त्रणमा राखेर उनलाई आइतबारै दिउँसो परिवारको जिम्मा लगाइएको थियो । यही विषयमा एसएसपी खड्कासँग बयान लिइएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।














