Logo
Logo

प्रलोपामा चर्कियो वैचारिक बहस, पार्टीको मार्गदर्शक सिद्धान्तमै मतभेद 


0
Shares

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) भित्र आगामी राष्ट्रिय सम्मेलनलाई लक्षित गर्दै वैचारिक मतभेद सतहमा आएको छ । पार्टीको सिद्धान्त र भावी राजनीतिक कार्यदिशाबारे केन्द्रीय तहका नेताहरूबाटै फरक धारणा सार्वजनिक हुन थालेपछि सम्मेलनअघि आन्तरिक बहस चर्किएको हो ।

The current image has no alternative text. The file name is: parlopa.jpg

मंसिर २५, २६ र २७ गते चितवनमा आयोजना हुने राष्ट्रिय सम्मेलनमा पार्टीको नाम, झण्डा, निर्वाचन चिह्न र नेतृत्व चयनसँगै वैचारिक सिद्धान्तको विषय पनि प्रमुख मुद्दा बन्ने देखिएको छ । विशेषगरी मार्क्सवाद-लेनिनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा नेताहरूबीच मतभिन्नता देखिएको छ ।

पार्टीका केन्द्रीय सचिवालय सदस्य विजय केसी ‘विकल्प’ले आसन्न राष्ट्रिय सम्मेलनबाट मार्क्सवाद–लेनिनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा आत्मसात् गर्नुपर्ने धारणा अघि सारेका छन् । जनयुद्धकालका चर्चित ब्रिगेड कमान्डरसमेत रहेका केसीले सामाजिक सञ्जालमार्फत आफ्नो वैचारिक अडान सार्वजनिक गरेका हुन् ।

उनले राष्ट्रिय सम्मेलनलाई नेतृत्व चयन र साङ्गठनिक संरचनाको फेरबदलमा मात्र सीमित गर्न नहुने बताएका छन् । पार्टीको वैचारिक पहिचान, नीति, कार्यक्रम र भावी राजनीतिक कार्यदिशा स्पष्ट गर्ने अवसरका रूपमा सम्मेलनलाई उपयोग गर्नुपर्ने उनको भनाइ छ ।

केसीले श्रमजीवी वर्ग, उत्पीडित समुदाय र सीमान्तकृत जनताको मुक्ति, समानता तथा सामाजिक न्यायलाई पार्टीको राजनीतिक केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । पार्टीलाई निर्वाचन र सत्ता प्राप्तिको प्रतिस्पर्धामा मात्र सीमित नगरी सामाजिक रूपान्तरणको आन्दोलनको अगुवाइ गर्ने राजनीतिक शक्तिका रूपमा विकास गर्नुपर्ने उनको धारणा छ ।

तर, अर्का केन्द्रीय सचिवालय सदस्य नारायण नागिलाको धारणा भने यसभन्दा फरक देखिएको छ । बाबुराम भट्टराई समूहबाट प्रलोपामा आएका नागिलाले सामाजिक सञ्जालमा व्यक्त गरेको विचारमार्फत मार्क्सवाद–लेनिनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गर्ने विषयमा असहमति जनाएका छन् ।

उनले कम्युनिस्ट आन्दोलनको इतिहास, विगतका राजनीतिक नेतृत्व र अभ्यासमाथि आलोचनात्मक टिप्पणी गर्दै परम्परागत वैचारिक मान्यताको पुनर्मूल्यांकन गर्नुपर्ने धारणा राखेका छन् । उनको अभिव्यक्तिले पार्टीको वैचारिक आधार मार्क्सवाद–लेनिनवाद हुनुपर्ने मान्यतामाथि प्रश्न उठाएको देखिन्छ ।

राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा दुई केन्द्रीय नेताबाट सार्वजनिक भएका फरक धारणाले प्रलोपाभित्रको वैचारिक बहसलाई थप चासोको विषय बनाएको छ । पार्टीले राष्ट्रिय सम्मेलनबाट आफ्नो भावी राजनीतिक कार्यदिशा तय गर्ने तयारी गरिरहेका बेला सार्वजनिक भएको यो मतभेदलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000