काठमाडौं । असोज १६ गते हुने भनिएका नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि हुने भएको छ । २ दिन ढिलो गरी सुरु हुने महाधिवेशन काठमाडौंको खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै महाधिवेशनको नयाँ मितिबारे जानकारी गराएका हुन् ।

‘नेपाली कांग्रेस १५ औँ महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भई प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइरहेका छन् ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसै बीचमा देशमा विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी निर्वाचन समिति र पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको छ । यस परिस्थितिलाई मध्येनजर गरी १५ औँ महाधिवेशन उद्घाटन समारोह २०८३ असोज १८ गते २ः०० बजे खुलामञ्चमा हुने जानकारी गराइन्छ ।’















