काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग भेटघाट गरेका छन्। महानिरीक्षक कार्की मंगलबार दिउँसो करिब ४ बजे प्रधानन्यायाधीश शर्मालाई भेट्न सर्वोच्च अदालत पुगेका थिए।

प्रधानन्यायाधीशको कार्यकक्षमा उनीहरूबीच करिब पौने घण्टा छलफल भएको सर्वोच्च स्रोतले जनाएको छ। भेटवार्तामा भएको कुराकानीको विस्तृत विवरण भने खुलाइएको छैन।
यसअघि प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘सुरक्षा जोखिम’ रहेको भन्दै रातारात निवासबाट प्रहरी चौकी पुर्याएको थियो। सरकारले पनि जबरामाथि सुरक्षा खतरा बढेकाले उद्धार (रेस्क्यु) गरिएको दाबी गरेको छ।
तर, जबरालाई आइतबार १० घण्टा नियन्त्रणमा राखिएको विषयमा सर्वोच्च अदालतको फुलकोर्ट बैठकले आपत्ति जनाएको थियो। फुलकोर्टले विज्ञप्ति जारी गरेलगत्तै प्रहरी महानिरीक्षक कार्की प्रधानन्यायाधीश शर्मालाई भेट्न सर्वोच्च पुगेका हुन्।














