Logo
Logo

क्रिकेट कि वरीयताको तानाशाही, नखेली नै नेपाल आउट (भिडियोसहित)


0
Shares

काठमाडौं । मैदानमा खेल नै नखेली, वा टस नै नगरी अंकतालिका र वरीयताको ढड्डा पल्टाएर विजेता घोषित गर्ने क्रिकेटको यो कस्तो विडम्बना ? खेलाडीले महिनौँसम्म पसिना बगाउनुको के तुक ? मैदानमा एउटा बल नफ्याँकी, ब्याटले एउटा रन ननिकाली, टसको सिक्कासम्म नउछाली आईसीसी वरीयताको ढड्डा पल्टाएर सोझै विजेता छान्ने हो भने यो क्रिकेट भयो कि कागजको खेल ?

यो विडम्बनाको इतिहास धेरै पुरानो छैन । सन् २०२३ को हाङ्जाउ एसियन गेम्सको पुरुष क्रिकेट फाइनललाई नै सम्झौँ, जहाँ स्वर्ण पदकका लागि भारत र अफगानिस्तान आमनेसामने थिए । खेल बाँकी नै थियो । अफगानिस्तानले कति रन बनाउँथ्यो ? भारतले त्यसलाई पछ्याउन सक्थ्यो कि सक्दैनथ्यो ? स्वर्ण कसले जित्ने थियो ? यी प्रश्नको उत्तर मैदानले दिनुपर्ने थियो ।

तर, वर्षा बाधक बन्यो । खेल रोकियो र पुनः सुरु हुन सकेन । अनि मैदानमा हुनुपर्ने प्रतिस्पर्धाको ठाउँ वरीयताले लियो । भारत उच्च वरीयतामा भएकाले स्वर्ण पदक उसैको पोल्टामा गयो र अफगानिस्तान रजतमै सीमित भयो । त्यो घटना त्यतिबेला नै विवादको विषय बनेको थियो । तर, प्रश्न त्यहीँ सकिएन । तीन वर्षपछि फेरि उही कथा दोहोरियो । फरक यत्ति हो– यसपटक वर्षाको चोट नेपालले पनि बेहोर्नुप¥यो ।

जापानमा जारी एसियन गेम्सको पुरुष क्रिकेटमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकालाई आईसीसी टी–२० आई वरीयताका आधारमा सीधै क्वार्टरफाइनलमा राखिएको थियो । नेपाल, अफगानिस्तान, जापान, हङकङ, मलेसिया र ओमानले भने समूह चरण खेलेर मात्र क्वार्टरफाइनलको बाटो तय गर्नुप¥यो ।

अर्थात्, नेपालले पहिलो चरणमै आफूभन्दा माथिल्लो वरीयताको अफगानिस्तानलाई हरायो पनि । अनि वर्षाका कारण जापानसँगको खेल पूरा हुन नसके पनि समूह विजेता बन्दै क्वार्टरफाइनलमा पुग्यो । नेपालले क्वार्टरफाइनल पुग्न मैदानमा भिड्नुप¥यो, तर श्रीलंकाले क्वार्टरफाइनल पुग्नुअघि नै वरीयताको फाइदा पायो । अनि क्वार्टरफाइनलमै वर्षा हुँदा पनि वरीयताकै फाइदा फेरि श्रीलंकालाई नै भयो ।

नेपाल र श्रीलंकाबीचको क्वार्टरफाइनलमा टससमेत हुन सकेन । लगातारको वर्षाका कारण मैदान खेल्न योग्य बनेन । अन्ततः खेल रद्द भयो र उच्च वरीयताको श्रीलंका सेमिफाइनल पुग्यो भने नेपाल प्रतियोगिताबाटै बाहिरियो । श्रीलंका नवौँ र नेपाल चौधौँ वरीयतामा थिए ।

अब सोच्नुस्, नेपाल श्रीलंकासँग १०० रनले हार्न सक्थ्यो, ५० रनले हार्न सक्थ्यो वा एक रनले हार्न सक्थ्यो । खेल सुपर ओभरसम्म पुग्न सक्थ्यो, अथवा नेपालले श्रीलंकालाई हराएर इतिहास रच्न पनि सक्थ्यो । यी सबै सम्भावना मैदानमा जीवित थिए । तर, नेपाललाई तीमध्ये एउटा पनि सम्भावनाको परीक्षण गर्न दिइएन । यो घटनाको सबैभन्दा पीडादायी पक्ष नै यही हो ।

नेपाल जापानमा केवल भाग लिन मात्र पुगेको टोली थिएन । एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कपमा समेत स्थान बनाएको नेपाली क्रिकेट टोली पछिल्लो समय उच्च आत्मविश्वास बोकेर अघि बढिरहेको थियो । मेडल जित्ने सपना थियो ।

एसियन गेम्सको पहिलो खेलमै नेपालले आफूभन्दा माथिल्लो वरीयताको अफगानिस्तानलाई पाँच विकेटले हरायो । त्यो जितले एउटा कुरा प्रमाणित गरेको थियो– वरीयता कागजमा हुन सक्छ, तर खेल मैदानमा हुन्छ । नेपालले अफगानिस्तानलाई हराउँदै क्वार्टरफाइनलको बाटो बलियो बनाएको थियो । जापानसँगको खेल पनि वर्षाले प्रभावित भयो, तर नेपाल समूह विजेता बन्यो ।

अर्थात्, नेपालले मैदानमा आफ्नो काम गरिसकेको थियो । त्यसैले श्रीलंकाविरुद्धको क्वार्टरफाइनल नेपालका लागि कुनै सामान्य खेल थिएन । यो एउटा यस्तो परीक्षण थियो– जहाँ नेपालले एसियाकै स्थापित क्रिकेट शक्तिलाई चुनौती दिन सक्छ कि सक्दैन भन्ने हेर्नु थियो । तर, यसको उत्तर आउनै पाएन ।

के यहाँ वर्षा मात्रै दोषी हो त ? पक्कै होइन । वर्षा प्राकृतिक कुरा हो, जसलाई कसैले नियन्त्रण गर्न सक्दैन । तर, प्रतियोगिताको संरचना मानिसले बनाउँछ, खेल तालिका मानिसले नै तय गर्छ । रिजर्भ डे राख्ने कि नराख्ने, वैकल्पिक मैदान खोज्ने कि नखोज्ने, मैदान सुकाउने पर्याप्त उपकरण राख्ने कि नराख्ने ? यी सबै व्यवस्थापकीय विषय हुन् ।

नेपाल र श्रीलंकाबीच खेल तय भएको कोरोगी स्पोट्र्स पार्कमा पर्याप्त ‘ड्रेनेज’ प्रणाली र पूरै मैदान ढाक्न सक्ने ठूलो त्रिपाल समेत थिएन । अझ ठूलो समस्या त के भने, क्रिकेटको नकआउट चरणमा ’रिजर्भ डे’ नै राखिएको थिएन । त्यसैले एउटा खेल वर्षाले रोकीएपछि अर्को दिन कुर्ने विकल्प पनि बाँकी रहेन ।

बहुखेलकुद प्रतियोगिताको समयतालिका सीमित हुन्छ, यो सत्य हो । तर त्यसो भन्दैमा कुनै एउटा टोलीको पदक यात्रा नै मौसम र वरीयताको संयुक्त निर्णयमा छोड्ने कि नछोड्ने ? मुख्य बहस यही हो । यो समस्या नेपालको मात्रै होइन । भारत र अफगानिस्तानबीचको क्वार्टरफाइनल पनि वर्षाका कारण रद्द भयो । र, भारत उच्च वरीयतामा भएकाले सेमिफाइनल पुग्यो । पाकिस्तान र हङकङबीचको खेल पनि हुन सकेन, पाकिस्तान अघि बढ्यो । पछि नेपाल–श्रीलंका र बंगलादेश–मलेसियाको क्वार्टरफाइनल पनि वर्षाकै सिकार भयो । उच्च वरीयताकै कारण श्रीलंका र बंगलादेश सेमिफाइनल पुगे । अर्थात्, क्वार्टरफाइनल सकिँदा मैदानले छान्नुपर्ने चारवटै टोलीलाई वरीयताले छानिदियो । यस्तै हुने हो भने त, टी–२० वरीयताको एक नम्बरमा रहेको भारतलाई सीधै स्वर्ण पदक दिँदा भइहाल्यो नि !

अब कुरा गरौँ– यो नियम कसले बनायो ? यसलाई सीधै ‘आईसीसीले बनाएको नियम’ भनेर बुझ्नु ठीक हुँदैन । एसियन गेम्सको मूल आयोजक संरचना ओलम्पिक काउन्सिल अफ एसियासँग जोडिएको छ । क्रिकेटको प्रतियोगिता संरचना र खेल सञ्चालनका सर्तहरू एसियन गेम्सका आयोजक पक्षले नै तय गर्छन् । आईसीसीले प्रतियोगिताको संरचना र सहभागी टोलीबारे जानकारी दिएको त छ, तर ‘यो नियम आईसीसीकै सल्लाहमा बनाइएको हो’ भन्ने प्रमाण कतै देखिँदैन ।

तर, वरीयतालाई नै आधार बनाइएको कुरा भने स्पष्ट छ । उच्च वरीयताको टोलीलाई सीधै क्वार्टरफाइनलमा राखियो र नकआउट खेल नतिजाविहीन भए उच्च वरीयताको टोलीलाई अघि बढाउने व्यवस्था प्रयोगमा ल्याइयो । यसको उद्देश्य बुझ्न गाह्रो छैन । एसियन गेम्समा समय सीमित हुन्छ । सबै खेलका लागि ’रिजर्भ डे’ राख्न सम्भव नहुन पनि सक्छ । त्यसैले, खेल हुन नसकेको अवस्थामा कसलाई अघि बढाउने भन्ने पूर्वनिर्धारित नियम चाहिन्छ । तर, व्यवस्था स्पष्ट हुनु र त्यो व्यवस्था सबैका लागि न्यायोचित महसुस हुनु एउटै कुरा होइन ।

नेपालले अब के सिक्ने ?
सबैभन्दा पहिलो पाठ– वरीयता पनि खेलको एउटा बलियो हतियार हो । नेपालले मैदानमा राम्रो प्रदर्शन गरेर अफगानिस्तानलाई हरायो । तर विश्व वरीयतामा आफूलाई अझ माथि पु¥याउन सकेन भने यस्तै परिस्थितिमा सधैँ जोखिम रहन्छ । प्रशिक्षक स्टुअर्ट लले पनि वरीयता प्रणालीको आफ्नै कारण रहेको स्वीकार गर्दै नेपालले त्यो सिँढी चढ्नुपर्ने बताएका थिए । तर, यसको अर्थ नेपालले केवल वरीयता सुधारेर चुप बस्नुपर्छ भन्ने होइन ।

क्रिकेटका अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा मौसमलाई पनि रणनीतिक जोखिमका रूपमा हेर्नुपर्ने समय आएको छ । आयोजकसँग ’रिजर्भ डे’ छ कि छैन ? मैदानको ड्रेनेज अवस्था कस्तो छ ? वैकल्पिक मैदान छ कि छैन ? वर्षाको सम्भावना कति छ ? खेल छोट्याउन सकिने अवस्था कस्तो छ ? यी सबै प्रश्न अब टोलीको तयारीकै हिस्सा बन्नुपर्ने देखिन्छ ।

किनकि, नेपालले यसपटक एउटा कठोर सत्य भोगेको छ– टोलीले कति राम्रो खेल्छ भन्ने कुरा मात्रै पर्याप्त हुँदैन, कुन नियम र कुन संरचनाभित्र खेल्दै छ भन्ने कुरा पनि उत्तिकै निर्णायक हुन्छ ।

क्रिकेटमा हामी भन्छौँ– ‘बेस्ट टिम जितोस्।’ त्यसो भए बेस्ट टिम पत्ता लगाउने बाटो के हो ? बल र ब्याटको प्रतिस्पर्धा कि पुरानो वरीयता ?

नेपालको सन्दर्भमा त प्रश्न अझै ठूलो छ । अफगानिस्तानलाई हराएर बलियो सम्भावना देखाएको नेपालले श्रीलंकाविरुद्ध त्यो सम्भावना प्रमाणित गर्ने मौका नै पाएन । वर्षाले त केवल नेपालको खेल रोकेको थियो, तर नियमले त नेपालको प्रतियोगिता नै रोकिदियो । र, यही कारण जापानबाट नेपालले पदक नल्याएको पीडा मात्रै बोकेर फर्कनु हुँदैन । अब नेपाली क्रिकेटले वरीयता, पूर्वाधार र प्रतियोगिता व्यवस्थापन मोर्चामा आफूलाई बलियो बनाउने बहस सुरु गर्नुपर्छ । किनकि, अर्को पटक पनि कथा यही दोहोरियो भने प्रश्न फेरि उठ्नेछ– नेपाल मैदानमा हा¥यो कि मैदानसम्म पुग्नुअघि नै नियमले हाराइदियो ?

प्रतिक्रिया दिनुहोस्