Logo
Logo

नेपालको पुँजी बजारमा बढ्दो आकर्षणः ८० लाख ९५ हजार डिम्याट खाता


126
Shares

काठमाडौं । नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता उत्साहजनक रूपमा विस्तार भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बुधवार बसेको संघीय संसदको अर्थ समितिको बैठकमा पेश गरेको पछिल्लो तथ्यांकअनुसार देशभर डिम्याट खाता खोल्नेको संख्या ८० लाख ९५ हजार पुगेको छ ।

अध्यक्ष भट्टले दिएको तथ्यांकअनुसार हालसम्म ५१ लाख २२ हजार बढी ‘मेरो सेयर’ खाता सक्रिय रहेका छन् भने गत आर्थिक वर्षको असार मसान्तसम्ममा कारोबार खाता खोल्ने लगानीकर्ताको संख्या ३५ लाख ६२ हजार नाघेको छ ।

बजारमा प्राथमिक शेयरको प्रभुत्व कायमै रहेको छ । संगठित संस्थाहरूले संकलन गरेको पुँजीमध्ये साधारण सेयरको हिस्सा ४६.२६ प्रतिशत, संस्थागत ऋणपत्रको हिस्सा ३१.०३ प्रतिशत र सामूहिक लगानी कोषको हिस्सा १४.८१ प्रतिशत रहेको छ ।

सैगरी विशिष्टीकृत लगानी कोषको ५.१७ र अग्राधिकार सेयरको हिस्सा २.१७ प्रतिशत छ। बोर्डका अनुसार हालसम्म २० वटा विशिष्टीकृत लगानी कोषलाई ४८ अर्ब २५ करोड बराबरको पुँजी परिचालनको स्वीकृति दिइएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सूचकांक असोज १३ गतेसम्म २६०३.७१ बिन्दुमा कायम रहेको छ भने कुल बजार पुँजीकरण ४४ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । पुँजी बजारले राज्यको राजस्वमा पनि महत्वपूर्ण योगदान दिइरहेको छ । आर्थिक वर्ष २०८२÷८३ मा बजारबाट १५ अर्ब ६१ करोड रुपैयाँ राजश्व संकलन भएको थियो भने चालु आर्थिक वर्षको भदौ मसान्तसम्म १ अर्ब ५४ करोड राजश्व प्राप्त भएको भट्टले बताए ।

उनले भने, ‘धितोपत्र बजारको वर्तमान अवस्थाको विषयमा हेर्ने हो भने लगानीकर्ताको सहभागिताको हिसाबले अहिले आर्थिक वर्ष ८३/८४ मा असोज १३ गतेसम्म हिजोसम्मको मितिमा ८० लाख ९५ हजारको डिम्याट खाता पुगेको देखिन्छ । मेरो शेयर खाता हेर्ने हो भने ८३/८४ को असोज १३ सम्म उक्त खाता ५१ लाख २२ हजार पुगेको देखिन्छ । कारोबार खाता हेर्ने हो भने ८२/८३ को असार मसान्तसम्म उक्त खाता खोल्ने लगानीकर्ताको संख्या ३५ लाख ६२ हजारभन्दा बढी पुगेको देखिन्छ । नेपालको धितोपत्र बजारमा धितोपत्र उपकरणहरूको रूपमा हामीसँग अहिले यो प्राथमिक बजारमा संगठित संस्थाले प्राथमिक बजारबाट सङ्कलन गरेको रकममा साधारण शेयरको संख्या ४६.२६ प्रतिशत, संस्थागत ऋणपत्रको संख्या ३१.०३ प्रतिशत, सामूहिक लगानी कोषको संख्या १४.८१ प्रतिशत, विशिष्टीकृत लगानी कोषको हिस्सा ५.१७ प्रतिशत र अग्राधिकार शेयरको हिस्सा २.१७ प्रतिशत छ । ०८३/८४ को असोज मसान्तसम्म हामीले यो वर्षमा अघिल्लो वर्ष हामीले आ.व. ०८२/८३ मा असार मसान्तसम्म ५२ संस्थालाई ७९ अर्ब ७३ करोड रकम बराबरको पुँजी परिचालनको स्वीकृति दिएको छ भने अहिले ८३/८४ को असोज मसान्तसम्म हामीले चारवटा संस्थालाई ४ अर्ब ६० करोड बराबरको पुँजी परिचालनको स्वीकृति प्रदान गरेका छौँ र विशिष्टीकृत लगानी योजनाको स्वीकृति स्थिति हेर्ने हो भने हालसम्म २० वटा विशिष्टीकृत लगानी कोषलाई ४८ अर्ब २५ करोड रकम बराबरको पुँजी परिचालनको स्वीकृति प्रदान गरिएको छ । धितोपत्रको दोस्रो बजारको स्थितिमा हेर्ने हो भने नेपाल स्टक एक्सचेन्जमा अब अहिले हाम्रो पछिल्लो स्थितिमा हेर्दाखेरि नेप्से २०८३ असोज १३ सम्मको सूचकाङ्क २६०३.७१ बिन्दुमा पुगेको छ । बजार पुँजीकरण ४४ खर्ब ७८ अर्ब पुगेको छ । र पुँजी बजारबाट सरकारी राजश्वमा योगदान हेर्ने हो भने आ.व. ०८२/८३ मा १५ अर्ब ६१ करोड र ८३/८४ को भाद्र मसान्तसम्म १ अर्ब ५४ करोड राजस्व प्राप्त भएको देखिन्छ ।’

गत आर्थिक वर्षमा ५२ वटा संस्थालाई ७९ अर्ब ७३ करोड बराबरको पुँजी परिचालन गर्न स्वीकृति दिएको बोर्डले चालु आवको असोज मसान्तसम्म चारवटा संस्थालाई ४ अर्ब ६० करोडको पुँजी परिचालनका लागि अनुमति प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्