Logo
Logo

प्रधानमन्त्री बालेनको राष्ट्रसंघ सम्बोधन सबैभन्दा बढी हेरियो : परराष्ट्रमन्त्री


315
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले उठाएको ‘जलवायु न्याय’को एजेण्डाले विश्व मञ्चमा गम्भीर ध्यानाकर्षण गराउन सफल भएको दाबी गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिएर बुधवार स्वदेश फर्किएका मन्त्री खनालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री बालेन शाहको सम्बोधन र आफूले विभिन्न मञ्चमा राखेका धारणाले नेपालको कुटनीतिक छवि उच्च बनाएको दाबी गरे ।

उनले महासभाको दौरान जलवायु परिवर्तनले नेपालजस्ता पर्वतीय मुलुकमा पारेको असरलाई ‘हिमालयन सुनामी’को रूपमा चित्रण गर्दै विश्व समुदायको ध्यानाकर्षण गराएको जानकारी दिए । विशेषगरी भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि उनले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तामा आर्थिक र प्राविधिक सहयोगका लागि माग गरेका थिए ।

मन्त्री खनालकाअनुसार नेपालले अब केवल आपत्कालीन राहतमा मात्र सिमित नभई क्षति न्युनिकरणका लागि ‘जलवायु वित्त’ र ‘क्षतिपूर्ति कोष’ को प्रभावकारी परिचालनमा जोड दिएको छ ।

यस भ्रमणका क्रममा नेपालले तीन नयाँ देश–ग्रेनाडा, नामिबिया र सेनेगलसँग कुटनीतिक सम्बन्ध स्थापना गरेको छ । जससँगै नेपालको कुटनीतिक सम्बन्ध भएका मुलुकहरूको संख्या १८८ पुगेको छ । साथै, विभिन्न देशसँग कुटनीतिक तथा सेवा राहदानी वाहकका लागि भिसा छुट गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री बालेनको सम्बोधनको चर्चा गर्दै मन्त्री खनालले उक्त सम्बोधन यस वर्षको महासभाको सबैभन्दा बढी हेरिएको र चासो लिइएको भाषणमध्ये एक बनेको बताए । उनले संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्स (युएई) ले बाढीपीडितका लागि घोषणा गरेको आर्थिक सहयोगप्रति आभार व्यक्त गर्दै अन्य अन्तर्राष्ट्रिय समुदाय पनि पुनर्निर्माणमा सकारात्मक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्