
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका लागि दुवै मुलुक ‘परिणाममुखी’ र अर्थपूर्ण भ्रमणको प्रतीक्षामा रहेको बताएका छन् ।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी भई स्वदेश फर्किने क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमणको समय तय नभए पनि दुवै पक्ष सकारात्मक रूपमा छलफलमा रहेको जानकारी दिएका हुन् ।
परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभा नेपालको हित प्रवर्धनका लागि निकै फलदायी रहेको दाबी गरे। महासभाका क्रममा विश्वभरका राष्ट्र तथा सरकार प्रमुखहरूसँग भएको भेटघाटलाई नेपालको राष्ट्रिय स्वार्थ र बाढीपछिको विपद् व्यवस्थापनका मुद्दाहरू विश्व मञ्चमा राख्न सदुपयोग गरिएको उनले बताए। नेपालको राष्ट्रिय हितका लागि प्राप्त अवसरहरूको उच्चतम प्रयोग गरिएको उनले स्पष्ट पारे।
प्रधानमन्त्रीको भारत भ्रमणबारे सोधिएको प्रश्नमा मन्त्री खनालले सरकार गठन भएलगत्तै भारतबाट भ्रमणको निम्तो प्राप्त भएको स्मरण गराए। विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘सरकार गठन भएलगत्तै प्राथमिकताका आधारमा भारत र चीनको भ्रमण गरी दुवै छिमेकी मुलुकसँग नेपालका प्राथमिकताका विषय स्पष्ट रूपमा प्रस्तुत गरेका थियौँ। महासभाका क्रममा विश्वभरका सरकार तथा राष्ट्र प्रमुख र परराष्ट्रमन्त्रीसँग द्विपक्षीय तथा बहुपक्षीय छलफल गर्ने अवसरलाई पनि अधिकतम उपयोग गर्दै नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेका छौँ।’
भोटेकोशी बाढीपछिको विपद् अवस्था र जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट रूपमा प्रस्तुत गर्दै सम्भव भएसम्म सबै अवसरको उपयोग गरिएको उनले बताए। प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा प्रारम्भदेखि नै निमन्त्रणा प्राप्त भएको र नेपालले त्यसलाई सकारात्मक रूपमा लिएको जानकारी उनले दिए। उपयुक्त समयमा परिणाममुखी भ्रमण गर्ने विषयमा दुवै पक्ष सकारात्मक भए पनि भ्रमणको मिति भने अहिलेसम्म तय भइनसकेको उनले स्पष्ट पारे।
सरकारले छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उनले यस भ्रमणले सम्बन्धलाई अझ सुदृढ र नतिजामूलक बनाउने विश्वास व्यक्त गरे।














