काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले महाराजगञ्जस्थित निवासबाट आधा रातमा ‘खुंखार अपराधी’लाई जस्तै गरेर बिनापूर्जी नियन्त्रणमा लिएर केही समयपछि छाडेको घटनाले राजनीतिक तथा कानुनी वृत्त आतंकित बनेको छ ।

पूर्वप्रधानन्यायाधीशमाथि राज्यले यति कठोर कदम चल्दासमेत उनको रहस्मय मौनताले यस घटनालाई थप रहस्यमय बनाएको छ । उनीलाई प्रहरीले सुरक्षा थ्रेट भएकोले आधा रातमा पक्राउ गरेको बताए पनि घटनाको वास्तविकता अझै बाहिर आएको छैन ।
उनी पक्राउ परेपछि सामाजिक सञ्जालमा आएको कुरालाई पत्याउने हो भने उनी सरकार पल्टाउने षड्यन्त्रमा संलग्न थिए । ससंदमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा उल्ट्याएर वर्तमान सरकार ढाल्ने खेलमा उनी लागेका थिए । यस विषयमा ‘गोप्य’ सूचना प्रधानमन्त्रीको सचिवालयले पाएर प्रधानमन्त्री बालेन साह युएनबाट फर्किएको राति नै उनीमाथि एक्सन गरिएको थियो । त्यो कुराको थप पोल खुल्ने डरले राणाले कतै पनि कानुनी रुपमा प्रतिवाद गरेका छैनन ।
प्रहरीले राणालाई ‘सुरक्षा चुनौती’ देखिएपछि सुरक्षित स्थानमा लैजान नियन्त्रणमा लिएको दाबी गरे पनि प्रमाण कुनै दिन सकेन । सरकारले पनि उनलाई पक्राउ नभई सुरक्षा प्रदान गर्न ‘रेस्क्यु’ गरिएको बहाना बनाएर पन्छियो ।
पूर्वप्रधानन्यायाधीशजस्तो व्यक्तिमाथि राज्यले गरेको यो हदसम्मको व्यवहारमा राणाको मौनताले उनीले अदालत सेटिङ गरेको, सरकार ढाल्न ओलीसँग ‘गोप्य’ सहकार्य गरेको जस्ता कुरा सही हो कि भन्ने आशंकालाई थप बल मिलेको छ । नभए उनले आफू अन्यायमा परेको विषयलाई लिएर कानुनी उपचार खोज्ने थिए ।
उनको मोबाइलमा विभिन्न बिचौलियाहरुसँगको सम्पर्क भेटिएको छ । उक्त मोबाइल सम्पर्कमा नख्खु जेलमा थुनिएका दीपक भट्ट र सुलभ अग्रवाललाई छुटाउन उनलाई बिचौलियाले पटकपटक फोन सम्पर्क गरेको देखिएको छ । यस विषयमा प्रहरीले छानबिन गरिरहेको छ ।
यदि त्यो कुराको पुष्टि भएमा राणामाथि कारबाही गर्ने आधार तयार हुने देखिन्छ । त्यही डरले उनी चुपचाप घरमै आराम गरेर बसेका हुन सक्छन् । महाराजगन्जस्थित एक हाउजिङमा बस्दै आएका इनाम सापकोटालाई प्रहरीको विशेष ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर उनीमाथि सोधपुछ गरेको थियो ।
सापकोटाले दीपक भट्ट र राणासँग मध्यस्थताको काम गर्दै आएको प्रहरीको दावी छ । भट्टले विचौलिया प्रयोग गरेको थाहा पाएपछि नक्खु कारागारबाट उनलाई सिन्धुपाल्चोक सरुवा गरिएको छ । ‘राणा र भट्टको डाइरेक्ट कनेक्सन देखिँदैन । तर नक्खु कारागारबाट इनामसँग र इनामले जबरासँग बाक्लै कुरा गरेको देखिन्छ ।
यहाँ केही खेल भइरहेको भएरै सरकारले राणालाई पक्राउ र भट्टलाई जेल सरुवा गरेको हुनसक्छ,’स्रोतले भन्यो । झापा घर भएका र अमेरिकी ग्रीनकार्ड भएका सापकोटासँग भट्टले गरेको कुराकानी तथा राणाको ह्वाटएपमा भएको कुराकानीलाई प्रहरीले आधार मानेर अनुसन्धान गरिरहेको छ ।
अहिले राणा घरमै अघोषित नजरबन्दमा रहेका छन् । यदि उनले आफू पक्राउ बारे कुनै कानुनी उपचारको बाटो खोजे भने उनी आफैँलाई अप्ठेरो पर्ने अवस्था छ ।
राणाको परिवारले समेत उनको सुरक्षाबारे प्रहरीमा निवेदन दिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले समेत घटनाबारे चासो देखाउँदै प्रहरी अधिकारीसँग सोधपुछका लागि बोलाएपछि प्रहरीहरु पनि आत्तिएका छन् ।
प्रहरीले सुरुमा पक्राउ वा हिरासतमा लिएको बताए पनि पछि सुरक्षा प्रयोजनका लागि पक्राउ गरिएको स्पष्टीकरण दिएको थियो । सरकारले सुरक्षा जोखिमका कारण राणालाई सुरक्षित स्थानमा सारिएको बताइरहँदा पक्राउको शैली, कानुनी प्रक्रिया र त्यसपछि गरिएको रिहाइबारे अझै केही प्रश्न अनुत्तरित छन् ।
त्यसैले अहिलेको मुख्य चासो राणा किन नियन्त्रणमा परे भन्ने मात्र होइन, राज्यले यस्तो कदम चाल्दा कुन कानुनी प्रक्रिया अपनायो र त्यसको आधिकारिक आधार के थियो भन्नेमा केन्द्रित भएको छ । राणा पक्राउ प्रकरणमा सरकारको थप आधिकारिक स्पष्टीकरण आएपछि मात्र घटनाको वास्तविक कारण र निर्णय प्रक्रियाबारे स्पष्ट चित्र आउने देखिन्छ ।
प्रहरीले जबरालाई घर फर्काएपछि उनको निवासमा सुरक्षा व्यवस्था बढाएको छ । प्रहरीका अनुसार राणा घरमै बस्न सहज महसुस गरेकाले निवासमै सुरक्षा उपलब्ध गराउने निर्णय गरिएको जनाएपनि अघोषित नजरबन्दमा रहेका छन् । राणाको दैनिक गतिविधिबारे भने प्रहरीले वा परिवारले विस्तृत जानकारी सार्वजनिक गरेका छैनन् ।
त्यसैले उनी घरमा के–कस्ता राजनीतिक, पारिवारिक वा अन्य भेटघाट गरिरहेका छन् भन्ने विषयमा बाहिर केही आएको छैन । मध्यराति घरबाट लगिएको र केही घण्टामै परिवारको जिम्मा लगाएर घरमै सुरक्षा दिइएको घटनाले राणाको सुरक्षासम्बन्धी प्रश्नलाई झनै रहस्मय बनाएको छ ।













