Logo
Logo

दसैँतिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने सहमति


441
Shares

काठमाडौं । दसैँतिहार तथा छठजस्ता ठूला चाडपर्वका समयमा वायुसेवा कम्पनीहरूले स्वीकृत अधिकतम भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने सहमति गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिबीच बिहीबार (असोज २२) भएको छलफलमा सरकारले स्वीकृत गरेको भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्ने सहमति गरिएको हो ।

The current image has no alternative text. The file name is: airplane.gif

नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयानुसार स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण र सोहीअनुसार सम्बन्धित वायुसेवा कम्पनीका भाडादर सार्वजनिक गर्ने सहमति भएको प्राधिकरणले जनाएको छ ।

चाडपर्वको समयमा आन्तरिक हवाई यात्रुको चाप अत्यधिक बढ्ने र त्यसको फाइदा उठाउँदै वायुसेवा कम्पनीहरूले अधिकतम भाडादरमा मात्र टिकट उपलब्ध गराउने गरेको गुनासो प्राधिकरणमा प्राप्त भएको थियो । सोही गुनासोका आधारमा प्राधिकरणको प्रधान कार्यालय सिनामंगलमा महानिर्देशक र आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिबीच छलफल गरिएको हो ।

प्राधिकरणले सबै आन्तरिक वायुसेवा कम्पनीलाई बिहीबार भएको सहमति अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । साथै, सहमतिअनुसारको भाडादर आफ्ना टिकट बिक्री तथा वितरणका माध्यममा सार्वजनिक गर्न समेत भनिएको छ ।

यात्रुले सहज रूपमा टिकटको मूल्यबारे जानकारी पाउने र स्वीकृत दरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले सहमति कार्यान्वयनमा जोड दिइएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्