काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले केही समयदेखि आफूहरूलाई चित्त नबुझाएर पार्टी छाडेका गएकाहरूलाई समेत फर्काउने दाबी गरेका छन् ।

शनिवार १५ औँ महाधिवेशनबाट सभापति निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘जो साथीहरू नेपाली कांग्रेस पार्टीमा हुनुहुन्थ्यो, मैले भनेको पार्टीको नेताहरूमात्रै होइन, त्योभन्दा बढी अझ पार्टीका शुभचिन्तक साथीहरू, पार्टीका समर्थकहरू, ती लाखौँ मानिसहरू जसले वर्षौंसम्म कांग्रेसलाई माया गर्नुभयो, तर केही वर्ष अगाडिबाट हामीले गरेका कामहरू चित्त नबुझाएर हामीलाई छाडेर जानुभएको छ । ती साथीहरूलाई हामी फर्काउँछौँ ।’
उनले असन्तुष्ट साथीहरूलाई पनि कांग्रेसकै घरमा आउँ आउँ लाग्ने बनाएरै छाड्ने बताए । उनले भने, ‘ती साथीरूलाई नेपाली कांग्रेसको कार्यालय, नेपाली कांग्रेसको घर, नेपाली कांग्रेसको परिवार, आउँ आउँ लाग्ने बनाएर छाड्छौँ भन्ने सङ्कल्पबाट हामी यात्रा प्रारम्भ गर्छौँ ।’
उनले अब आफूहरू काम गर्ने तरिका बदलेर अघि बढ्ने बताए । ‘काम गर्ने तरिका बदल्ने छौँ । काम गर्ने तरिका बदलेर सबैभन्दा पहिला जो साथीहरू हामीसँग हुनुहुन्छ, उहाँहरूको भरोसालाई अझै माथि उठाउने नै छौँ,’ थापाले भने ।













