काठमाडौं । भारतको पश्चिम बङ्गाल र दिल्लीका पूर्वमुख्यमन्त्रीद्वयलाई प्रहरीले हिरासतमा लिएको छ । कक्रोच जनता पार्टी (सीजेपी) को आह्वानमा हुने भनिएको प्रदर्शनलाई निष्प्रभावी बनाउन दिल्ली प्रहरीले पश्चिम बंगालीक पूर्वमुख्यमन्त्री ममता बनर्जी र दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको हो ।

तृणमूल कांग्रेस (टीएमसी) का प्रवक्ता साकेत गोखलेले सामाजिक सञ्जाल एक्समार्फत बनर्जीलाई दिल्ली प्रहरीले हिरासतमा लिएको बताएका हुन् ।
‘ममता दिदीसहित हामी पाँच जनालाई दिल्ली प्रहरी र सीआरपीएफले उहाँको निवासबाहिरबाट हिरासतमा लिएर प्रहरी भ्यानमा राखेको छ,’ उनले लेखेका छन्, ‘हामीलाई कुनै अज्ञात स्थानमा लगिँदै छ । यो भारतमा लोकतन्त्रको मृत्यु हो ।’
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार टीएमसी प्रमुख बनर्जी र पार्टीका अन्य नेताहरूले दिल्लीको साउथ एभेन्युस्थित बस बिसौनीमा धर्ना दिएका थिए । त्यसपछि दिल्ली प्रहरीले उनीहरूलाई हिरासतमा लिएको हो । हिरासतमा लिनुअघि बनर्जीले आफूहरू जन्तरमन्तर जान चाहेको तर प्रहरीले जान नदिएको बताएकी थिइन् ।
यसैबीच, दिल्ली प्रहरीले आम आदमी पार्टीका प्रमुख तथा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि हिरासतमा लिएको छ । पार्टीका नेताहरू साथ जन्तर-मन्तरतर्फ मार्च गरिरहेका बेला उनलाई प्रहरीले हिरासतमा लिएको बीबीसीले जनाएको छ ।













