Logo
Logo

सुरक्षा निकायलाई अडिडेलद्वारा प्रविधि हस्तान्तरण, विपद् व्यवस्थापन र उद्धार कार्य प्रभावकारी बनाउने लक्ष्य


189
Shares

काठमाडौँ । नेपालका सुरक्षा निकायहरूलाई विपद् व्यवस्थापन, खोज तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ प्रविधि क्षेत्रको कम्पनी ‘अडिडेल’ ले आधुनिक हार्डवेयर तथा सफ्टवेयर प्रणाली हस्तान्तरण गरेको छ ।

कम्पनीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र नेपाली सेनालाई आवश्यक वायरलेस तथा दूरसञ्चार प्रविधिलाई एकीकृत गर्ने प्रणाली उपलब्ध गराएको हो । यस प्रणालीले विपद्का समयमा सुरक्षा निकायहरूबीचको आपसी समन्वयलाई सुदृढ बनाउँदै प्रतिकार्य क्षमता र कार्यसम्पादनलाई थप चुस्त तथा प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सहयोगको आर्थिक मूल्यभन्दा पनि देशको रक्षामा अहोरात्र खटिने सुरक्षा निकायहरूको वास्तविक कार्यगत आवश्यकता सम्बोधन गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको कम्पनीले जनाएको छ । अडिडेलले आजका चुनौती समाधान गर्न भोलिको आधुनिक प्रविधि ल्याउने विश्वास व्यक्त गरेको छ।

यस प्रविधि हस्तान्तरणको पहललाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने गृह मन्त्रालय, रक्षा मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चारमाध्यम तथा सम्पूर्ण सुरक्षा निकायहरूप्रति कम्पनीले आभार व्यक्त गरेको छ । साथै, निरन्तरको समर्पण र सामूहिक प्रयासबाट यस पहललाई वास्तविकतामा परिणत गर्ने अडिडेल परिवारका सम्पूर्ण सदस्यहरूलाई पनि विशेष धन्यवाद दिइएको छ ।

कठिन परिस्थितिमा पनि जनताको सुरक्षा, खोज तथा उद्धार र विपद् व्यवस्थापनमा अहोरात्र खटिने नेपालका सम्पूर्ण सुरक्षा निकायहरूप्रति उच्च सम्मान प्रकट गर्दै कम्पनीले देश र जनताको सेवामा सानो भएपनि योगदान दिन पाएकोमा गर्व र कृतज्ञता महसुस गरेको छ।

प्रविधि केवल व्यावसायिक लाभका लागि मात्र नभई मानवता र राष्ट्रको सेवाका लागि प्रयोग हुनुपर्छ भन्ने मूल मान्यताका साथ आगामी दिनमा पनि देशको आवश्यकता र जनहितलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता अडिडेलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्