काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–विशालनगरमा करिब १०० घरमा लेदो पसाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार पत्रकार सम्मेलन आयोजना गरी सो जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले भने, “धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित विशालनगरका करिब १०० घरमा लेदो पसेको छ।” सल्लेरीस्थित टाइम्स जलविद्युत् आयोजनाका १२ कर्मचारीलाई भने सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए। बाढीले उक्त जलविद्युत् आयोजनाको भौतिक संरचनामा पनि क्षति पुर्याएको छ।
डा. उप्रेतीका अनुसार बूढीगण्डकीको बाढीले दोभान खोला (२४.५ मेगावाट) क्याम्प क्षेत्रमा क्षति पुर्याउनुका साथै बेलिब्रिज बगाएको छ। त्यस्तै, यारु खोला (३०.५९ मेगावाट) मा पनि बेलिब्रिजमा क्षति पुर्याउनुका साथै निर्माण सामग्री र उपकरण बगाएको छ भने माछा खोला (१६ मेगावाट) को आयोजना स्थल पुग्ने पुलमा समेत क्षति पुगेको छ।
उद्धारकार्य तिब्र, ३८६ सुरक्षाकर्मी परिचालन
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका ४ वटा हेलिकोप्टर परिचालन गरिएको कार्यकारी प्रमुख उप्रेतीले बताए। प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाबाट १२७, नेपाल प्रहरीबाट ८३ र सशस्त्र प्रहरी बलबाट १७७ गरी जम्मा ३८६ जना सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन्।
बूढीगण्डकी नदीमा बाढी आएको जानकारी आइतबार बिहान ६ बजे प्राप्त भएको प्राधिकरणले जनाएको छ। बाढीको सूचना प्राप्त हुनासाथ बेनिघाटसम्मका सर्वसाधारणलाई एसएमएसमार्फत जानकारी गराएर सतर्क गराइएको थियो।













