Logo
Logo

सशस्त्रमा एक पदका तीन प्रतिस्पर्धी


2.2k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल बर्खास्तमा परेसँगै संगठनमा एआईजीको एक पद रिक्त भएको छ । उक्त पदमा बढुवाका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूबीच प्रतिस्पर्धा हुने भएको छ ।

रिक्त पदमा बढुवाका, दीपेन्द्र शाह र सुरेश श्रेष्ठ, पुरुषोत्तम थापालगायत अधिकारीहरू दौडमा छन् । प्रतिस्पर्धीमध्ये दीपेन्द्र शाह र सुरेश श्रेष्ठमध्ये एक जना बढुवा हुने सम्भावना रहेको स्रोतको भनाइ छ । गृह मन्त्रालयले संवेदनशील सूचना चुहावट तथा आचरणविपरीत कार्य गरेको निष्कर्ष निकाल्दै दाहाललाई शुक्रबारदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट बर्खास्त गरेको हो । एआइजी दाहाल अदालतमा रिट लिएर जाने संभावना छ । सर्वोच्च अदालतले उनलाई पुर्नवहाली गरेपनि एक वर्ष पदावधि थप गर्ने संभावना छैन ।

दाहाललाई गत १९ असोजमा निलम्बन गरी उनीमाथि छानबिन सुरु गरिएको थियो । सशस्त्र प्रहरीका एआईजी अञ्जनीकुमार पोखरेलको नेतृत्वमा गठित छानबिन समितिले गत साता गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो । समितिले सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार दाहाललाई कारबाही गर्न सिफारिस गरेपछि मन्त्रालयले बर्खास्त गर्ने निर्णय गरेको हो ।

दाहालमाथि ११ असोजमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई अनुमति नलिई भेटेको र संवेदनशील सूचना चुहावट गरेको आरोप लागेको थियो । प्रहरी नियन्त्रणमा रहेका जबरालाई भेट्न पुगेपछि दाहालमाथि प्रधानमन्त्री तथा गृहमन्त्रीहरूको व्यक्तिगत गतिविधिसम्बन्धी सूचना संकलन तथा चुहावट गरेको आरोपसमेत लागेको थियो । जबरा दाहालका नातामा काकाससुरा हुन् ।

सशस्त्र प्रहरीको ‘चेन अफ कमान्ड’ उल्लंघन गरेको आरोपमा समेत दाहालमाथि कारबाही प्रक्रिया अघि बढाइएको थियो । उनी आगामी असोज २८ गते अवकाशमा जाने तयारीमा थिए । अवकाशअघि उनको पदावधि थप गर्ने विषयमा प्रस्ताव अघि बढिरहेका बेला उनी निलम्बनमा परेका थिए । बर्खास्तीपछि पदावधि थप हुने सम्भावना पनि समाप्त भएको छ ।

सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार एआईजीको पदावधि चार वर्षको हुन्छ । सरकारले आवश्यक ठानेमा एक वर्ष पदावधि थप गर्न सक्ने व्यवस्था भए पनि दाहालको हकमा त्यो सम्भावना टरेको छ ।

यसअघि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको अवकाशपछि एआईजी नारायणदत्त पौडेल महानिरीक्षक बनेका थिए । पौडेल महानिरीक्षक बनेपछि रिक्त भएको एआईजी पदमा डीआईजी अञ्जनीकुमार पोखरेल बढुवा भएका थिए ।

दाहाल बर्खास्त भएपछि रिक्त भएको पदमा अब बढुवा प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ । बढुवाका लागि प्रतिस्पर्धामा रहेका डीआईजीहरूमध्ये कसले बाजी मार्छन् भन्ने विषयलाई सशस्त्र प्रहरी संगठनभित्र चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्