Logo
Logo

फेसबुकका यी नक्कली बालेन को हुन् ?


0
Shares

काठमाडौं । सामाजिक सञ्जालमा फेक आइडी बनाएर बालेन साहको नाम, तस्बिर र पहिचान दुरुपयोग गर्दै गलत तथा भ्रामक सामग्री पोस्ट गर्ने प्रवृत्तिमाथि गम्भीर प्रश्न उठेको छ । यसले सर्वसाधारणमा भ्रमसमेत सृजना गरेको छ ।

कुनै चर्चित व्यक्तिको नाममा नक्कली खाता बनाएर आफूखुसी अभिव्यक्ति सार्वजनिक गर्नु सामान्य बदमासी मात्र होइन, यसले आम नागरिकलाई भ्रमित पार्ने, सामाजिक सद्भाव बिगार्ने र सम्बन्धित व्यक्तिको प्रतिष्ठामा गम्भीर असर पु¥याउने जोखिम हुन्छ । तर, पनि सबैको निगरानी गर्ने बालेनको सचिवालयले यी नक्कली बालेन साह को हुन् भन्ने कुरा अहिलेसम्म पत्ता लगाउन नसक्नु आश्चर्यको विषय बनेको छ ।

बालेनको नाममा फेसबुकमा भाइरल बनाइएका ती पोस्टहरू वास्तविक नभई नक्कली स्क्रिनसट र फोटोसपजस्ता एप प्रयोग गरेर तयार गरिएको पाइएको छ ।

सामाजिक सञ्जालमा देखिने ती पोस्टहरूमा बालेनको आधिकारिक फेसबुक वालमा गइ अर्कै विषयमा लेखिएको पोस्टको स्क्रिनसट लिएर त्यसमा अनावश्यक, आपत्तिजनक तथा असम्बन्धित शब्दहरू थपेर ‘बालेनको पोस्ट’ भन्दै सेयर गर्ने प्रवृत्ति बढ्दो देखिएको छ ।

यसरी नक्कली पोष्ट गर्नेहरुमाथि पनि अहिलेसम्म साइबर व्यूरोमा उजुरी नपर्नु अर्को आश्चर्यको विषय बनेको छ । उल्टै बालेनको विरुद्ध लेख्नेलाई भने साइबर ब्यूरोले कारबाही गरिरहेको छ । यसले भ्रम सृजना गरेको छ र नक्कली बालेन साह को हन् भन्ने कुरा अहिलेसम्म रहस्यमय नै छ ।

सामाजिक सञ्जाल सूचना प्राप्त गर्ने, विचार व्यक्त गर्ने र सार्वजनिक बहस गर्ने प्रभावकारी माध्यम बनेको छ । त्यहीबाट बालेनको जन्म भयो । तर यही माध्यमलाई केही व्यक्तिले बालेनको फोटो राखेर गलत सूचना फैलाउने, जनतालाई झुक्याउने र अरूको पहिचानको दुरुपयोग गर्ने साधन बनाउनु चिन्ताजनक विषय हो । विशेषगरी बालेन साहजस्ता सार्वजनिक रूपमा चर्चामा रहने व्यक्तिको नाम र तस्बिर प्रयोग गरेर नक्कली पोस्टले आमनागरिकमा भ्रम सृजना गरेको छ ।

कल्पना गरौँ, कुनै व्यक्तिले बालेन साहको तस्बिर राखेर मिल्दोजुल्दो नाममा फेसबुक खाता बनाउँछ । त्यसपछि उक्त खाताबाट कुनै विवादास्पद निर्णय, राजनीतिक अभिव्यक्ति वा सार्वजनिक व्यक्तिलाई लक्षित गरेको भनाइ पोस्ट गरिन्छ । पोस्ट हेर्ने धेरै मानिसले खाताको वास्तविकता जाँच नगरी त्यसलाई बालेन साहकै आधिकारिक भनाइ ठान्न सक्छन् । त्यसपछि उक्त सामग्रीका स्क्रिनसट बनाइन्छन्, विभिन्न फेसबुक समूहमा शेयर गरिन्छन् र अन्य सामाजिक सञ्जालमा समेत फैलाइन्छन् । केही समयमै नक्कली पोस्टलाई वास्तविक ठानेर मानिसहरूबीच बहस, विवाद र आरोप–प्रत्यारोप सुरु हुन सक्छ । यो गम्भीर विषय हो ।

कुनै सार्वजनिक व्यक्तिले नबोलेको कुरा बोलेको जस्तो बनाएर पोस्ट गर्नु गलत सूचना फैलाउने तरिका हो । यसले नागरिकलाई वास्तविक घटनाबारे गलत धारणा बनाउन प्रेरित गर्न सक्छ । बालेनको नामबाट आएका यस्ता नक्कली पोष्टले राजनीतिक तथा सामाजिक विवाद चर्काउने गरेको छ । नक्कली खाताबाट उत्तेजक वा विवादास्पद सामग्री सार्वजनिक गरिएमा समर्थक र आलोचकबीच अनावश्यक विवाद बढाएर त्यसको असर वास्तविक व्यक्तिको छवि र सार्वजनिक बहस समेत बन्न पुगेको छ ।

कसैको नाममा झुटा भनाइ सार्वजनिक हुँदा उसले नबोलेको कुराको जवाफ दिनुपर्ने अवस्था आउन सक्छ । गलत पोस्टका कारण उत्पन्न विवादले व्यक्तिको विश्वासनीयतामाथि समेत प्रश्न उठाउन सक्छ । तर यी विषयमा बालेन र उनको सचिवालय मौन बस्नुले जनमानसमा भ्रम खडा भएको छ । यस्तो कार्यलाई तुरुन्तै रोक्नुपर्छ ।

कहिलेकाहीँ पुरानो तस्बिर, सम्पादित स्क्रिनसट वा फरक घटनाको सामग्रीलाई नयाँ घटनासँग जोडेर प्रस्तुत गर्दा भ्रम पर्ने गरेको छ । नाम, तस्बिर र विवरण मिल्दोजुल्दो राख्दै खाता सञ्चालन गर्दा सर्वसाधारणलाई वास्तविक र नक्कली खाताबीच भिन्नता छुट्याउन कठिन हुन सक्छ ।

त्यसैले कुनै पोस्टमा धेरै लाइक वा शेयर हुनु मात्रै त्यसको सत्यताको प्रमाण होइन । नक्कली खाता बनाउने व्यक्ति मात्र होइन, सामग्रीको सत्यता नजाँची त्यसलाई तथ्यका रूपमा फैलाउने प्रवृत्तिले पनि समस्या बढाउँछ । कुनै पोस्टले धेरै प्रतिक्रिया पाएको छ भन्दैमा त्यो सही हुन्छ भन्ने छैन । त्यस्तै, कुनै चर्चित व्यक्तिको नाम जोडिएको छ भन्दैमा उक्त सामग्री आधिकारिक हुन्छ भन्ने पनि हुँदैन ।

नागरिकले शंकास्पद पोस्ट देखेमा सम्बन्धित व्यक्तिको आधिकारिक सामाजिक सञ्जाल खाता, विश्वसनीय समाचार स्रोत वा अन्य प्रमाणबाट पुष्टि गर्नुपर्छ । यस्ता घटनामा सामाजिक सञ्जाल प्रयोगकर्ताले नक्कली खातालाई रिपोर्ट गर्न सक्छन् । आवश्यक प्रमाण सुरक्षित राखेर सम्बन्धित प्लेटफर्म वा सक्षम निकायमा उजुरी दिन सकिन्छ ।

खाता, पोस्टको लिंक, प्रकाशन मिति र उपलब्ध स्क्रिनसटजस्ता विवरण अनुसन्धानका लागि उपयोगी हुन सक्छन् । तर बालेनका नाममा आउने फेक आइडीबारेमा अहिलेसम्म प्रहरीमा उजुरी परेको छैन । कसले खाता सञ्चालन गरेको हो, सामग्री कसरी सार्वजनिक भयो र त्यसबाट कानुनविपरीत कार्य भएको छ कि छैन भन्ने कुरामा अहिलेसम्म अनुसन्धान नै भएको छैन ।

लोकतान्त्रिक समाजमा सरकार, नेता र सार्वजनिक व्यक्तिको आलोचना गर्न नागरिक स्वतन्त्र छन् । आलोचना गर्नु, व्यङ्ग्य गर्नु वा फरक विचार राख्नु आफैँमा गलत होइन । तर अर्को व्यक्तिको पहिचान नक्कल गरेर झुटा भनाइलाई वास्तविकजस्तो प्रस्तुत गर्नु फरक विषय हो ।

आलोचना गर्न पाइन्छ, प्रश्न उठाउन पाइन्छ, तर अरूको नाममा झुटो सन्देश बनाएर जनतालाई झुक्याउने अधिकार कसैलाई छैन । बालेन शाहको नाम र पहिचान प्रयोग गरेर नक्कली पोस्ट गर्ने कार्य भएको प्रमाण भेटिएमा त्यसको गम्भीरतापूर्वक छानबिन हुनुपर्नेमा गलत सूचना फैलाउने, अरूको पहिचान दुरुपयोग गर्ने र सर्वसाधारणलाई जानाजानी भ्रममा पार्ने कार्यलाई सामान्य ठानेर बेवास्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्