Logo
Logo

असफलता लुकाउन अरूमाथि औँला ठड्याउँदै रास्वपा


441
Shares

काठमाडौं । हिजो अरूलाई दोष लगाएर सत्तामा पुगे, आज आफ्नै असफलता लुकाउन फेरि अरूमाथि औँला ठड्याउँदै छन् ! हिजो जनताका समस्या देख्ने, सरकारलाई प्रश्न गर्ने र नेताहरूलाई जबाफदेही बनाउन घोक्रो सुकाउनेहरू आज आफैँ सत्तामा छन् । तर, जनताका दुःख उस्तै छन्, अभाव उस्तै छ, प्रश्न उस्तै छन्– फरक यत्ति हो, हिजो प्रश्न गर्नेहरू आज प्रश्नदेखि भागिरहेका छन् ! अझ विडम्बना, सरकारले गरेका केही राम्रा कामसमेत आफ्नै नेता–कार्यकर्ताको घमण्ड, धम्की र अराजक व्यवहारले ओझेलमा परिरहेका छन् । जनताले परिवर्तन खोजेका थिए, अहंकार होइन, सुशासन खोजेका थिए, धम्की होइन, जवाफ खोजेका थिए, दोषारोपण होइन ! आखिर रास्वपाले कहिले फुकाल्छ यो ‘दोषी चस्मा’ ?

सत्तारुढ दल रास्वपाले अहिले देशैभर ‘हामी आउँदैछौँ’ नामक प्रचारमुखी अभियान चलाइरहेको छ । चुनावका बेला मात्र जनताको घरदैलोमा पुग्ने परम्परागत पार्टीहरूको शैलीलाई चिर्दै जनताका दैनिक समस्या र गुनासो सुन्ने रास्वपाको दाबी छ । तर, वास्तविकता भने सोचेभन्दा बिल्कुल फरक देखिन्छ । अभियानका नाममा गाउँ–गाउँ पुगेका नेता तथा सांसदहरूको हरकत देख्दा उनीहरू जनताको दुःखेसो सुन्न होइन, उल्टै आफ्नै घमण्ड र धम्कीको प्रदर्शन गर्न पुगेका हुन् कि भन्ने भान हुन्छ ।

हो, सरकारले केही क्षेत्रमा सुधारात्मक काम नगरेको होइन । प्रशासनिक सुधार, सेवा प्रवाहमा कडाइ र नीतिगत रूपमा केही सकारात्मक कदम चाल्ने प्रयास भएका छन् । तर विडम्बना, सरकारका ती एकाध राम्रा काम पनि पार्टीका नेता–कार्यकर्ताको अतिवादी, घमण्डी र अराजक व्यवहारका कारण ओझेलमा परेका छन् । जनताले सरकारको कामको अनुभूति गर्नै पाएका छैनन् । किनकि दिनहुँ सामाजिक सञ्जालमा रास्वपाका नेताहरूको हप्काइ, धम्की र गैर जिम्मेवार अभिव्यक्तिकै मात्र चर्चा हुने गरेको छ ।

अहिले रास्वपाको नेतृत्व र सिङ्गो पार्टी नै एउटा ‘दोषी चस्मा’ लगाएर हिँडिरहेको छ भन्दा फरक नपर्ला । जनता लामो समयदेखि खाना पकाउने ग्यास समेत नपाएर हाहाकारमा छटपटाइरहेका छन् । तर, सत्ता सम्हालिरहेको रास्वपा आफ्नो निकम्मापन सुधार्नुको साटो ग्यास अभावको दोष व्यापारीहरूमाथि थुपारेर उम्किन खोज्दै छ । 

जनताले खाना पकाउने ग्याससम्म नपाएको यथार्थ हो । त्यसैले सरकारको पहिलो दायित्व आपूर्ति व्यवस्था सहज बनाउनु हो । बजारमा अभाव किन भयो रु वितरणमा कसले अवरोध सिर्जना गर्यो ? कृत्रिम अभाव र कालोबजारी भएको छ कि छैन ? यी प्रश्नको जवाफ खोज्नु सरकारकै जिम्मेवारी हो । कालोबाजारी गर्नेलाई सरकारले कारबाहीको दायरामा ल्याउनुपर्ने हो, लुकाइएको ग्यास नियन्त्रणमा लिएर सर्वसाधारणलाई वितरण गर्नुपर्ने हो, बजार अनुगमनलाई तीव्रता दिनुपर्ने हो र उपभोक्तालाई राहतको अनुभूति गराउनुपर्ने हो । तर, सरकारकै नेताहरू व्यापारीलाई दोष दिएर पन्छिन खोजिरहेका छन् । न्यूनतम आपूर्ति व्यवस्थापन समेत गर्न नसक्नेले सुशासनको नारा चाहिँ किन लगाउनुपर्यो ?

त्यति मात्रै होइन, आफूले सिन्को भाँच्न नसक्दा उनीहरू स्थानीय सरकारलाई दोषी देख्छन्, शान्ति–सुरक्षा कायम गर्ने निकाय, अदालत, पत्रकार र विपक्षी दलका नेताहरूलाई दोषी ठान्छन् । आखिर, रास्वपाका लागि संसारमा राम्रा र निर्दोष भनेका केवल आफ्ना अन्ध–समर्थक र झोले कार्यकर्ता मात्रै रहेछन् । रास्वपा कुनै ठोस राजनीतिक निष्ठा वा जनसेवाको इतिहासबाट जन्मिएको पार्टी होइन, यो त केवल अरूलाई गाली गरेर र जनआक्रोशलाई भजाएर बनेको शक्ति हो । उनीहरूको हिजोका भनाइ र आजका गराइमा आकाश–पातालको फरक छ । अझ विडम्बना के छ भने, स्वयं सभापति रवि लामिछानेमाथि नै सर्वसाधारणको बचत जोडिएको सहकारी ठगीमा गम्भीर मुद्दा चलिरहेको छ । त्यस्तै, प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेनको उदय पनि कम नाटकीय छैन । काठमाडौँ महानगरको मेयर हुनुअघि जनप्रियताका लागि अनेक गफ छाँट्ने उनी, मेयर भएपछि आफ्नी श्रीमती चढेको सरकारी गाडीलाई नियमअनुसार ट्राफिक प्रहरीले चेकजाँच गर्दा “सिंहदरबार जलाइदिन्छु” भन्दै खुलेआम धम्की दिन्थे । आज सिंहदरबार जलेपछि तिनै बालेन सत्ताको उच्च शिखरमा पुगेका छन् । हिजो मेयर हुँदा कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राख्ने बालेन, अहिले देशकै प्रधानमन्त्री बनेपछि नेपालले पनि भारतको भूमि मिचेको भन्दै अत्यन्तै गैर जिम्मेवार र विवादास्पद अभिव्यक्ति दिँदै हिँडिरहेका छन् ।

प्रधानमन्त्री बालेनको उक्त अभिव्यक्तिको चौतर्फी आलोचना हुँदा र प्रतिपक्षी दलहरूले संसद्मा स्पष्टीकरण माग गर्दै सदन अवरुद्ध गर्दा समेत न कुनै जवाफ आउँछ, न त स्पष्टीकरण नै । संविधानअनुसार संसद्मा प्रधानमन्त्री उपस्थित भएर जनप्रतिनिधिका प्रश्नको सामना गर्नुपर्ने स्पष्ट व्यवस्था भएपनि उनी संसद्मा उभिएर उत्तर दिनसम्म आवश्यक ठान्दैनन् । संसदीय मर्यादा र सार्वजनिक शिष्टाचार रास्वपाका नेता–सांसदहरूका लागि उपहासको विषय बनेको छ । रास्वपाका सांसद तथा नेता खगेन्द्र सुनार सुरक्षाकर्मीको नेतृत्वमाथि निरन्तर खनिरहेका छन् । कहिले एसपीलाई सडकमा घिसार्ने धम्की दिन्छन् त कहिले प्रहरी महानिरीक्षकलाई सार्वजनिक रूपमै ‘भाइ’ भन्दै बर्दी खोलेर चुनाव लड्न आउन चुनौती दिइरहेका छन् ।

तर विडम्बना, सुनार आफैँ भने सर्वोच्च अदालत, सुर्खेत जिल्ला अदालत र काभ्रे जिल्ला अदालत गरी तीन–तीन वटा अदालतमा विभिन्न अभियोगमा मुद्दा खेपिरहेका अभियुक्त हुन् । उनको यस्तै अराजक व्यवहारका कारण जनतामाझबाट उनलाई सांसद पदबाटै फिर्ता बोलाउने ९रिकल’० माग समेत उठ्न थालेको छ । अन्य सांसद र नेताहरूको शैली पनि उत्तिकै दण्डहीन छ । कुनै सांसदलाई सम्मानको यति भोक छ कि आफूलाई स्वागत गर्न नआएको झोँकमा विद्यालयका प्रधानाध्यापकलाई नै गएर थर्काउँछन् भने, कोही अन्य नेता र पत्रकार देख्नेबित्तिकै दाह्रा किट्छन् । त्यति मात्रै होइन, ‘जान्नेलाई छान्ने’ नारा दिएर संसद् छिरेका सांसदहरूलाई संसद्को आधारभूत नियम र मेच ढ्यापढ्याप पार्ने तरिका सिक्नै छ महिना बित्छ ।

 
विडम्बना के छ भने, यदि कसैले सरकारका गलत काममाथि प्रश्न उठायो भने उनीहरूमाथि सङ्गठित रूपमा साइबर आक्रमण हुन्छ । अराजकताको सीमा त्यतिवेला नाघ्छ, जब बाढी–पहिरो जस्ता प्राकृतिक विपत्तिमा परेका पीडितहरू रोइकराई गर्छन् । बाढीमा आफ्नो सिङ्गो परिवार गुमाएका, काखमा दुधे बच्चा च्यापेर सरकारसँग राहत र उद्धारका लागि गुहार मागिरहेका पीडितहरूलाई समेत उनीहरूले छाड्दैनन् । “सरकारले उद्धार गरेन” भन्दै रोदन गर्ने ती असहाय पीडित र महिलाहरूको चरित्र हत्या गर्न समेत रास्वपाका कार्यकर्ता र समर्थकहरू पछि हट्दैनन् । 

पुराना दलबाट वाक्कदिक्क भएर जनताले रास्वपालाई पूर्ण भरोसा गर्दै झण्डै दुई–तिहाइ बहुमत सुम्पेका थिए । तर, रास्वपाका नेता र कार्यकर्ता भने त्यही बहुमतको हुर्मत लिँदै अराजकता फैलाइरहेका छन् । अरूलाई दोष दिनु र पुराना पार्टीहरूले ३५ वर्षसम्म केही गरेनन् भनेर पन्छिनुबाहेक उनीहरूले अरू केही जानेकै छैनन् जस्तो गर्छन् ।

रास्वपाले निर्वाचनमा जसरी “चुपचाप घण्टी छाप” भनेको थियो, अहिले पनि त्यसरी नै चुपचाप काम गरेर विरोधीको मुख बन्द गराउनुपर्ने हो । तर, उनीहरू काम गरेर होइन, साइबर आक्रमणमार्फत प्रश्न उठाउनेहरूको मुख जबर्जस्ती बन्द गराउन र आफ्ना एकाध राम्रा कामलाई पनि आफ्नै अराजकताले समाप्त पार्न तल्लीन छन् ।

यदि रास्वपाले समयमै आफ्नो ‘दोषी चस्मा’ फुकालेर आफ्ना कार्यकर्ताको अराजकता, साइबर गुण्डागर्दी र नेताहरूको घमण्डलाई नियन्त्रण गरेन भने, जुन जनताले उनीहरूलाई माथि पुर्याएका हुन्, तिनै जनताले उति नै तीव्र गतिमा भुईँमा पछारिदिनेछन् । 

त्यसैले रास्वपाले अब आफ्ना नेता तथा कार्यकर्तालाई एउटै कुरा बुझाउन जरुरी छ–  सरकारको राम्रो कामलाई आफ्नै हरकतले छोप्ने होइन, त्यसलाई अझ बलियो बनाउने हो । आलोचकलाई गाली गरेर होइन, जनताको जीवनमा परिवर्तन ल्याएर जवाफ दिने हो । सरकारले गरेको उपलब्धि कुनै नेता वा कार्यकर्ताको निजी सम्पत्ति होइन, त्यो जनताको हितमा गरिएको काम हो । त्यसको जस लिन चाहनेले त्यसको गरिमा जोगाउने जिम्मेवारी पनि लिनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्