काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा.अमरेशकुमार सिंहले दुई तिहाइ बहुमत प्राप्त हुँदैमा सरकारले गर्ने सबै निर्णय सही नहुने बताएका छन् ।

राजदूत नियुक्तिका लागि सरकारले गरेको सिफारिसमाथि संसदीय सुनुवाइ समितिले प्रश्न उठाउँदै केही नाम अस्वीकृत गरेपछि प्रतिक्रिया दिँदै सिंहले लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुने बताएका हुन् ।
उनले राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा संसदीय समितिले सरकारको सिफारिसमाथि प्रश्न उठाउनु र आवश्यक परे रोक लगाउनु संसदीय निगरानीको महत्त्वपूर्ण अभ्यास भएको उल्लेख गरेका छन् । सिंहले लोकतन्त्रमा बहुमतको शासन भए पनि बहुमतलाई जबाफदेही बनाउने व्यवस्था पनि उत्तिकै आवश्यक रहेको बताएका छन् । ‘दुई तिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही हुन्छन् भन्ने छैन । लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुन्छ,’ उनले भनेका छन् ।
संसदीय समितिको भूमिकालाई लोकतान्त्रिक व्यवस्थाको महत्त्वपूर्ण पक्षका रूपमा व्याख्या गर्दै सिंहले बहुमतको निर्णयमाथि पनि प्रश्न उठाउन र त्यसलाई जबाफदेही बनाउन सकिने व्यवस्था नै लोकतन्त्रको सुन्दरता भएको बताएका छन् । ‘यही हो लोकतन्त्रको सुन्दरता, यही हो संसदीय समितिको गरिमा,’ सिंहले भनेका छन् ।













