काठमाडौं । होर्मुज जलघाँटीमा समुद्री सुरुङ विस्फोटकमा ठोक्किएपछि एउटा मालवाहक जहाज डुबेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)को नौसेनाले जहाज डुबेको जनाएको हो ।

जारी युद्धका क्रममा समुद्री सुरुङमा ठोक्किएर जहाज डुबेको घटना पहिलोपटक सार्वजनिक भएको हो । यसैबीच, समुद्री यातायातसम्बन्धी अधिकारीहरूले सिंगापुरमा दर्ता भएका दुई मालवाहक जहाज मङ्गलवार र बुधवार जलडमरूमध्य पार गर्ने क्रममा अज्ञात वस्तुबाट प्रहारमा परेको जानकारी दिएका छन् । तीमध्ये एउटा जहाज डुबेको छ भने अर्को सुरक्षित स्थानमा पुग्न सफल भएको छ ।
सिंगापुरको सामुद्रिक तथा बन्दरगाह प्राधिकरणले डुबेको जहाजमा रहेका सबै चालक दलका सदस्यलाई सुरक्षित रूपमा बाहिर निकालिएको जनाएको छ । दुवै घटनामा कुनै मानवीय क्षति भने नभएको जनाइएको छ । प्राधिकरणले यस्ता आक्रमणलाई उक्साहटरहित, औचित्यहीन तथा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घनका रूपमा व्याख्या गरेको छ ।
यद्यपि, सिंगापुरमा दर्ता भएको डुबेको जहाज र इरानले समुद्री सुरुङमा ठोक्किएको बताएको जहाज एउटै हुन् वा होइनन् भन्ने विषय खुल्न बाँकी रहेको छ । इरानी अधिकारीहरूले घटनाबारे विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । इरानको सरकारी टेलिभिजनले प्रसारण गरेको रिभोलुसनरी गार्डको वक्तव्यअनुसार जहाज बुधवार बिहान इरानले अवैध तथा जोखिमपूर्ण मार्ग भनेको बाटो हुँदै यात्रा गरिरहेको समयमा समुद्री सुरुङमा ठोक्किएको थियो ।
प्रसारण गरिएका दृश्यमा जहाज पानीमा एकातिर ढल्किएको र त्यसबाट बाक्लो धुवाँ निस्किरहेको देखाइएको थियो । उक्त जहाजमा दुई हजार ५०० वटा कन्टेनर रहेको जनाइएको छ ।
इरानले आफ्नो अनुमति बिना होर्मुज जलडमरूमध्य पार गर्ने प्रयास नगर्न जहाजहरूलाई पटक–पटक चेतावनी दिँदै आएको छ ।अर्कोतर्फ, अमेरिकी सेनाले जहाजहरूलाई ओमानको तट नजिकको मार्ग हुँदै जलडमरूमध्य पार गर्न सहयोग गरिरहेको छ ।













