काठमाडौं । आज देशभरको मौसम मुख्यतः सफा रहने भएको छ । तर पश्चिमी वायुको आंशिक प्रभावका कारण हिमाली तथा पहाडी क्षेत्रका केही ठाउँमा भने मौसम बदली भई हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले सार्वजनिक गरेको दसैँ विशेष मौसम बुलेटिनअनुसार आज फूलपातीका दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ भने देशका अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । त्यसैगरी मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने मौसम मुख्यतः सफै रहने अनुमान गरिएको छ ।
यसैगरी हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले गर्दा दसैँका केही दिन हिमाली तथा पहाडी क्षेत्रको मौसममा आंशिक बदली आउन सक्नेछ ।














