काठमाडौं । दसैँको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी रहेको छ । नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन बडादसैँ पर्व भव्य रूपमा मनाउँछन् । नजिकका परिवारका सदस्य र मान्यजनहरूबाट दशमीको दिन टीका जमरा लगाएर आशीर्वाद ग्रहण गरे पनि टाढा भएका आफन्तहरूसम्म पुग्न नपाएकाहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गर्दछन् ।
आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दसैँ घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै सुरु हुन्छ ।
आज आश्विन शुक्ल एकादशीलाई पापाङ्कुशा एकादशीका रूपमा मनाइँदै छ । आजको एकादशीका दिन व्रत बसे विगतमा जानी–नजानी गरेका पापमा अङ्कुश लाग्ने धार्मिक विश्वास छ ।















