Logo
Logo

PHP मा गम्भीर सुरक्षा कमजोरी,नेपालसहित विश्वभरका साइट अफलाइन


252
Shares

काठमाडौं । PHP मा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालसहित विश्वका धेरै देशका सरकारी वेबसाइटहरू अस्थायी रूपमा बन्द भएका छन् । इन्टरनेटका अधिकांश वेबसाइटहरू सञ्चालनमा प्रयोग हुने यस प्रोग्रामिङ भाषामा दुईवटा खतरनाक कमजोरी पत्ता लागेपछि साइबर सुरक्षा निकायहरूले तत्काल सुरक्षा अपडेट लागू गर्न र अपडेट गर्न नसक्ने अवस्थामा वेबसाइटहरू अस्थायी रूपमा बन्द राख्न आग्रह गरेका थिए।

The current image has no alternative text. The file name is: error.jpg

बुधवार दिउँसो यी कमजोरी समाधान गर्ने सुरक्षा अपडेट जारी भए पनि समयमै अद्यावधिक गर्न नसक्ने संस्थाहरूले आफ्ना साइटहरू अफलाइन राखेका छन् । बिहीबार बिहानसम्म नेपालका .gov.np डोमेनका वेबसाइटहरू खुलेका छैनन् । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, विभिन्न मन्त्रालय र स्थानीय तहका पालिकाका आधिकारिक साइटहरू अझै बन्द अवस्थामा छन् ।

जोखिमका कारण फिनल्यान्ड सरकारले पनि आफ्ना सार्वजनिक वेब सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ । बेलायतको एडिनबरा काउन्सिल र बीबीसीले केही पृष्ठहरू अफलाइन गरेका छन् भने नेदरल्यान्ड्सको साइबर सुरक्षा निकायले समेत आफ्नो वेबसाइट बन्द गर्ने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) ले सामाजिक सञ्जाल एक्स मार्फत सुरक्षा अपडेट लागू गर्न नसक्ने संस्थालाई प्रणाली अफलाइन राख्न सुझाव दिएको छ । एनएसएका अनुसार यी कमजोरीले आक्रमणकारीलाई सर्भरको फाइल प्रणाली वा डेटाबेससम्म प्रत्यक्ष पहुँच दिलाउन सक्छन् । यसबाट संवेदनशील सूचना चोरी हुने वा अनधिकृत पहुँच स्थापित हुने गम्भीर जोखिम रहन्छ । 

यी दुई कमजोरी कृत्रिम बुद्धिमत्ता (एआई) को सहयोगमा पत्ता लागेका हुन् । साइबर सुरक्षा कम्पनी विज  (Wiz) ले यी कमजोरीलाई एआई प्रविधिबाट पहिचान गरिएका अहिलेसम्मकै सबैभन्दा गम्भीरमध्येका रूपमा वर्णन गरेको छ । एआईको तीव्र विकाससँगै साइबर सुरक्षा क्षेत्रमा ठूलो परिवर्तन आइरहेको छ । 

यसैबीच ह्वाइट हाउसले अमेरिकी सङ्घीय निकायहरू प्रमुख एआई प्रयोगशालासँग सहकार्य गरी सुरक्षा समस्या समाधान र अपडेट कार्यान्वयनलाई तीव्रता दिइरहेको जनाएको छ । साइबर सुरक्षा निकायहरूले अहिले पनि सबै सम्बन्धित संस्थालाई PHP को पछिल्लो सुरक्षा अपडेट तत्काल लागू गर्न र नसक्ने अवस्थामा जोखिमयुक्त प्रणाली अस्थायी रूपमा बन्द राख्न आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्