Logo
Logo

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण


252
Shares

काठमाडौं । इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको भित्री भागमा वर्षमा दुई पटक सूर्यको सुनौलो किरण प्रवेश गरी मूर्तिहरूलाई उज्यालो पार्ने दुर्लभ खगोलीय दृश्य हेर्न बिहीबार बिहान सयौँ पर्यटक र स्थानीयवासी भेला भएका छन् ।

The current image has no alternative text. The file name is: egpty.jpg

रामसेस द्वितीयको महान् मन्दिरमा हरेक वर्ष अक्टोबर २२ र फेब्रुअरी २२ मा सूर्यको किरण प्रवेश गर्छ । यी मितिहरूलाई प्राचीन इजिप्टका राजा रामसेस द्वितीयको जन्मदिन र सिंहासन आरोहणसँग सम्बन्धित मानिन्छ । मन्दिरको बनावट र सूर्यसँगको यसको विशेष पङ्क्तिबद्धताका कारण भित्री कक्षमा प्रवेश गर्ने प्रकाश करिब २० मिनेटसम्म रहन्छ ।

इटालीका पर्यटकका लागि स्थानीय पथप्रदर्शकका रूपमा काम गर्ने हिशाम खेलाले यो दिन विशेष उत्सव र ऐतिहासिक महत्त्वको अवसर भएको बताए ।

सूर्योदयको दुर्लभ दृश्य हेर्न पर्यटकहरू बिहानैदेखि लामबद्ध भएका थिए । कतिपय पर्यटक रातभर बाहिरै बसेका थिए । मोबाइल फोन र क्यामेराबाट तस्बिर खिच्ने तथा सेल्फी लिनेहरूको भीड मन्दिर परिसरमा लागेको थियो । विशाल मूर्तिहरूको अगाडि भेला भएका पर्यटकहरू साना देखिन्थे । मन्दिर नाइल नदीतर्फ फर्किएको छ ।

उत्सवका क्रममा मन्दिर परिसरमा परम्परागत पोसाक लगाएका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए । उनीहरूले घण्टी, तबलाको ताल र प्राचीन इजिप्टको बिगुलजस्तो बाजा मिजमारको धुनमा नृत्य गरेर आगन्तुकलाई मनोरञ्जन दिएका थिए ।

मन्दिरको भित्री कक्षमा रामसेस द्वितीय तथा अमुन–रा र रा–होरख्ती देवताका मूर्तिहरू रहेका छन् । सामान्यतया अँध्यारो रहने यस कक्षमा सूर्यको किरण करिब ६० मिटर भित्रसम्म पुगेर मूर्तिहरूलाई उज्यालो पार्छ । नेसनल रिसर्च इन्स्टिच्युट अफ एस्ट्रोनोमी एन्ड जियोफिजिक्सका अनुसार यो दृश्य मन्दिरको वास्तु संरचना र सूर्यको अवस्थाबीचको विशेष सम्बन्धका कारण सम्भव भएको हो ।

अमेरिकाको एटलान्टाबाट इजिप्ट पुग्नुभएकी जेनिस साउदीले विशाल मूर्तिहरू र तिनको संरक्षणबाट आफू प्रभावित भएको बताए । उनले मन्दिरका भित्तामा कुँदिएका आकृति, चित्रलिपि र रङहरूको सुन्दरताले आफूलाई अझ बढी आकर्षित गरेको उल्लेख गरे ।

सन् १९६० को दशकमा अस्वान उच्च बाँध निर्माणपछि बढ्न सक्ने पानीबाट मन्दिरलाई जोगाउन पुरातत्त्वविद् र इन्जिनियरहरूले ठूलो परियोजना सञ्चालन गरी मन्दिरलाई सुरक्षित स्थानमा सारेका थिए । स्थानान्तरणका क्रममा सूर्यसँग मन्दिरको पङ्क्तिबद्धता कायम राख्न विशेष ध्यान दिइएको थियो । त्यसैले तीन हजार वर्षभन्दा बढी समयपछि पनि वर्षमा दुई पटक सूर्यको किरण मन्दिरको भित्री कक्षसम्म पुग्ने प्राचीन परम्परा निरन्तर छ ।

प्रतिक्रिया दिनुहोस्