कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्सको दुबईका लागि नियमित उडान सुरु भएको एक महिना पूरा भएको छ ।

सेप्टेम्बर २३ देखि अक्टोबर २३ सम्ममा फ्लाईदुबईको उडान मार्फत ६ हजार ३ सय ६२ यात्रुले यात्रा गरेको विमानस्थल जानकारी दिएको छ ।
उडान मार्फत दुबईबाट पोखरा चार हजार ५२१ र पोखराबाट दुबई जाने यात्रुको संख्या एक हजार ८४१ रहेको छ ।एक महिनाको तथ्यांकअनुसार दुबईबाट पोखरा आउने यात्रुको प्रति उडान औसत करिब १५१ र पोखराबाट दुबई जाने यात्रुको औसत करिब ६१ रहेको छ । दुवैतर्फ गरी प्रतिउडान औसत करिब १०६ यात्रुले यात्रा गरेका छन् ।
पोखरा–दुबई हवाई सम्पर्कलाई निरन्तरता दिने प्रतिबद्धता स्वरूप फ्लाईदुबईले सन् २०२७ अक्टोबर सम्मका लागि टिकट बुकिङ खुला गरेको छ । यो यो संख्याले पोखराबाट अन्तर्राष्ट्रिय उडानको निरन्तरता प्रति आशा जगाएको पोखरा महानगरपालिका मेयर धनराज आचार्यले बताए ।
पोखरा–दुबई नियमित उडानले पोखराको पर्यटन, आर्थिक चलायमान र अन्तर्राष्ट्रिय आवागमनमा थप सहजता ल्याउने उनको अपेक्षा छ।















